विराटनगरमा २० दिन अघिपछि बाबु–छोरीको मृत्यु, बुबाको मृत्यु कालगतिले, छोरीको कोरोनाले

विराटनगर, १० भदौ । बुबाको मृत्यु भएको २० दिनपछि विराटनगरकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

मंगलबार विराटनगर महानगरपालिका–११ की ४४ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हाे । उनका ७० वर्षीय बुबाको २० दिनअघि मृत्यु भएको थियो । मृत्युपछि बुबाको पीसीआर जाँच गर्दा कोरोना नेगेटिभ देखिएको थियो ।

परिवारका अनुसार ७० वर्षीय बुबाको निधन भएपछि मृत्यु संस्कारमा बसेकी उनलाई त्यहीबीचमा निमोनियाको समस्या देखिएको थियो ।

स्वास्थ्यमा पहिलेदेखि नै समस्या रहेको बुबाको निधन २३ साउनमा भएको परिवारले जनाएको छ ।

बुबाको कामकै बीचमा बिरामी परेकी महिलाको बाबुको निधन भएको २० दिनपछि कोरोनाले ज्यान लिएको हो । बुबाको काममा बसेका बेला उनलाई ज्वरो आउनेलगायत समस्या देखिएको परिवारले जनाएको छ ।

‘बुबाको काममा बस्दादेखि नै दिदी बिरामी पर्नु भएको थियो,’ मृतकका भाइले भने, ‘निमोनियाको पनि समस्या थियो । हिजो कोरोना पोजेटिभ देखियो ।’

उनका अनुसार दिदीलाई त्यसअघि पनि एक पटक निमोनिया भइसकेको थियो । ‘यसअघि पनि निमोनियाका कारण दिदी गम्भीर बिरामी पर्नु भएको थियो,’ भाइले भने, ‘पुनः दोहोरिएछ ।’

बुबाकै काममा बसेका बेला बिरामी परे पनि परिवारनै दुःखमा रहेका कारण त्यो समयमा प्रभावकारी उपचार गराउन नपाउँदा बिरामले च्याप्दै लगेको बताइएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार राति ८ बजेतिर श्रेष्ठ थरकी महिलाको मृत्यु भएको थियो ।

मृत्युपछि महिलाको शवको बुधबार परमविश्रान्ती घाटमा अन्त्येष्टि गरिएको थियो ।

Loading...