Rumpum

Rumpum Advertisement

सागमा सहभागी १६ बक्सिङ खेलाडीको कोरोना बीमा

सागमा सहभागी १६ बक्सिङ खेलाडीको कोरोना बीमा

काठमाडौं, १० भदौ । गत वर्ष सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ जना बक्सिङ खेलाडीको कोरोना बीमा गरिएको छ ।

पूर्व बक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले सागमा सहभागी १६ खेलाडी र दुई प्रशिक्षकको कोरोना बीमा गरिदिएका हुन् ।

नेपाली बक्सिङको विकासमा लामो समयदेखि क्रियाशील श्रेष्ठले आफ्नै खर्चमा खेलाडी र प्रशिक्षकको जनही एक लाख रुपैयाँको कोरोना बीमा गरिदिएका हुन् ।

विसं २०७६ मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना गरिएको १३औँ सागमा नेपालबाट १० पुरुष र छ महिला बक्सिङ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

नेपालले प्रतियोगितामा बक्सिङतर्फ तीन स्वर्ण, छ रजत र छ कास्य पदक प्राप्त गरेको थियो । सागमा सनिल शाही, भूपेन्द्र थापा र मीनु गुरुङले स्वर्ण जितेका थिए ।

यस्तै गणेश प्रधान, आशिष दुवाडी, ललिता महर्जन, माला राई, संगीता सुनार र पुनम रावलले रजत तथा विकास लामा, अर्जुन सिगु, सुशील थापा, तेजबहादुर देउवा, पुरन राई र चन्द्रकला थापाले कास्य पदक प्राप्त गरेका थिए ।

सागमा सहभागी खेलाडीलाई प्रशिक्षण दिएका बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर र प्रवीण तुलाधरको पनि बीमा गरिएको पुर्व बक्सिङ खेलाडी श्रेष्ठले जानकारी दिए ।

कोरोना भाइरसको महामारीको समयमा खेलाडी र प्रशिक्षकको ज्यान जोखिममा भएकाले बीमा गरिदिएको उनले बताए ।

बीमा पोलिसी एकमुष्ट रुपमा प्रमुख प्रशिक्षक थापा मगरलाई हस्तान्तरण गरिएको छ ।