Rumpum

Rumpum Advertisement

अत्यावश्यक औषधिको अभाव छैन : विभाग

अत्यावश्यक औषधिको अभाव छैन : विभाग

काठमाडौ, १० भदौ । औषधि व्यवस्था विभागले अहिले देशभरि नै अत्यावश्यकीय औषधिहरुको अभाव नरहेको जनाएको छ ।

तेस्रो मुलुकबाट आयात गर्नुपर्ने केही औषधिहरु समयमा ढुवानी हुन नसक्दा समस्या देखिए पनि अत्यावश्यक औषधिको अभाव नरहेको विभागको भनाइ छ । अहिले देशका कुनै पनि संस्थाबाट निश्चित आवश्यक औषधि अभाव भएको सूचना नआएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए । नेपालमा नबन्ने बाहिरबाट ल्याउनुपर्ने औषधिहरु आउने क्रममा केही ढिला हुँदा समस्या देखिए पनि अभावको अवस्था नभएको उनको भनाइ छ ।

उनले भने, ‘आवश्यक औषधि उपलब्ध छन । कुनै निश्चित औषधि अभाव भएको सूचना आएको छैन । कुनै पनि औषधिहरु निश्चित क्षेत्रमा अभाव भयो भन्ने रिपोर्टिङ भए पनि व्यवस्थापन गरिएको अवस्था छ । अभावको अवस्था निश्चितरुपमा देखिएको छैन । ’

चिकित्सकहरुको सल्लाहविना अनावश्यकरुपमा औषधि सेवन गर्नेहरुको संख्या बढेकोप्रति उनले चिन्ता व्यक्त गरे । औषधि सेवनले सधै स्वास्थ्यलाई फाइदा नपुग्ने उल्लेख गर्दै उनले अनावश्यकरुपमा औषधि सेवन नगर्न आग्रह गरे । उनले भने, ‘आवश्यकताभन्दा बढी औषधि दिएर व्यापारिक फाइदा त होला तर यसले शरीरलाई हानी पु¥याउँछ । कतिपय अवस्थामा ज्यान पनि जान सक्छ । अनावश्यकरुपमा सेवन गर्नु हुँदैन र बिक्री पनि गर्नु हुँदैन भन्ने सबैले बुझ्नु पर्छ ।’

कोरोना भाइरसविरुद्ध नेपालमा प्लाज्मा थेरापीका लागि अनुमति दिइएको उनले बताए । आवश्यक प्रयोजनका लागि विश्वका विभिन्न मुलुकले समेत सो औषधिलाई अनुमति दिएको उल्लेख गर्दै उनले रगतको प्लाज्मा निकालेर गम्भीर अवस्थाका बिरामीलाई दिने ‘प्लाज्मा थेरापी’ विधिको प्रयोग भइरहेको बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले ‘एसटी’ नामक आयुर्वेदिक औषधिको उपयोगिताका बारेमा पनि अध्ययन गरिरहेको सूचना आफूले पाएको उनको भनाइ छ ।