झापामा किशोरी बलात्कारको आरोपमा दुई युवा पक्राउ

झापा, १० भदौ । झापामा किशोरी बलात्कार गरेको आरोपमा दुई जना युवा पक्राउ परेका छन् ।

मंगलबार साँझ किशोरी बलात्कार गरेको आरोपमा अर्जुनधारा ७ मा बस्दै आएका गौरादह नगरपालिका घर भएका २२ वर्षीय अशोक दर्जी र कमल गाउँपालिका घर भएका २४ वर्षीय विक्रम हास्दालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू सवारी चालक रहेको प्रहरीले जनाएको छ ।

हिजो साँझ शनिश्चरे बजारबाट घरतर्फ जाँदै गरेकी किशोरीलाई गढीस्थित विरिङ पुलबाट पछ्याउँदै गएका ती युवाले टाङटिङ खोलाको किनारमा रहेको सानो जंगलमा बलात्कार गरेको बताइएको छ ।

टाङटिङ खोलाको पुलमा रुँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले किशोरीलाई भेटेर सोधपुछ गर्दा घटना बाहिर आएको थियो ।

किशोरीको भनाइका आधारमा प्रहरीले बाटोमा फर्किँदै गरेको अवस्थामा आरोपित दुई युवालाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।

Loading...