निषेधाज्ञाको विकल्प देऊ : नेपाली कांग्रेस

काठमाडौ, १० भदौ । नेपाली कांग्रेसले निषेधाज्ञाको विकल्पमा अल्पकालीन र दीर्घकालीन योजना तत्काल ल्याउन सरकारसँग माग गरेको छ ।

कांग्रेसको कोरोना अनुगमन समितिले लकडाउन र निषेधाज्ञाको विकल्पमा तत्काल अल्पकालीन र दीर्घकालीन योजना ल्याउन माग गरेको हो । चार महिना लामो लकडाउनका कारण आर्थिक र सामाजिक जीवन कष्टकर बने पनि फेरि निषेधाज्ञा गरी जनतालाई दुःख दिने काम सरकारले गरेको कांग्रेसको आरोप छ ।

बन्दका कारण जनताले दुःख पाएकाले अब संक्रमण न्यूनीकरण गर्दै बन्दको विकल्पमा तत्कालीन र दीर्घकालीन योजना सार्वजनिक गर्न सरकारसँग माग गरिएको कांग्रेसद्वारा गठित कोरोना अनुगमन समितिका संयोजक प्रकाशशरण महतले बताए । सरकारले अब बन्दको अवस्था पनि आउन नदिने र संक्रमण पनि बढ्न नदिने गरी योजना ल्याउनु पर्ने उनको भनाइ छ ।

संक्रमणको दर बढिरहेको अवस्थामा निजी क्षेत्रसँग समन्वय गरेर अगाडि बढ्नुपर्नेमा सरकारले त्यसो गर्न नसकेको उनले बताए । निजी अस्पतालहरुलाई २० प्रतिशत बेड अनिवार्यरुपमा छुट्याउन सरकारले भने पनि त्यो व्यावहारिक नभएको उनको तर्क छ । त्यसको सट्टा आवश्यक अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा अगाडि बढाउने योजनाका साथ निजी अस्पतालहरुसँग समन्वय गर्नुपर्ने सुझाव उनले दिए ।

स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीलगायतमा संक्रमणको जोखिम बढेकाले उद्दार र उपचारको जिम्मा सरकारले लिनु पर्ने, स्वास्थ्यकर्मीका लागि बिमा कार्यक्रम तत्काल लागू गर्नु पर्ने र कोभिड जोखिम भत्ताको यथाशीघ्र व्यवस्था गर्नु पर्ने माग कांग्रेसको छ । अहिले अक्सिजन र भेन्टिलेटरको समेत अभाव रहेकाले सरकारले त्यसतर्फ पनि ध्यान दिनु पर्ने महतले बताए ।

विदेशमा अप्ठ्यारोमा रहेका नागरिकहरुका लागि नियमित उडान खोल्नु पर्ने र शैक्षिक वर्ष खेर जान नदिने ग्यारेन्टीका साथ वैकल्पिक उपाय सुनिश्चित गर्न पनि उनले सरकारसँग आग्रह गरे ।

Loading...