अफ्रिका पोलियोबाट मुक्त भएको घोषणा

विराटनगर, १० भदौ । अफ्रिका पोलियोबाट मुक्त भएको घोषणा गरिएको छ ।

पछिल्लोपटक नाईजेरिया पोलियोमुक्त भएसँगै त्यहाँको स्वतन्त्र नियमन निकाय क्षेत्रीय प्रमाणिकरण आयोगले अफ्रिका महादेशलाई पोलियोमुक्त घोषणा गरेको हो । अफ्रिकामा पोलियोमुक्त हुने अन्तिम देश नाइजेरिया बनेको छ । नाइजेरियाले पोलियोमुक्त घोषणा गरेसँगै अफ्रिका महादेश नै पोलियोमुक्त भएको हो । झण्डै आधा दशक अघिसम्म विश्वमा भएका पोलियो संक्रमितमध्ये आधाभन्दा बढी नाइजेरियामा मात्रै थिए ।

नाइजेरियाको विकट तथा हिंसा प्रभावित क्षेत्रमा सेना तथा स्वास्थ्यकर्मीको व्यापक परिचालन गरी पोलियोको खोप लगाएकाले पोलियोमुक्त हुन सकेको हो । सो क्रममा केही स्वास्थ्यकर्मीले ज्यानसमेत गुमाएका थिए । विशेषगरी पाँच वर्षमुनिका बालबालिकामा प्यारालाइसिससम्म गराउने पोलियो दुई दशकको अवधिमा पूर्णरुपमा उन्मुलन भएको हो ।

अफ्रिकाको ९५ प्रतिशतभन्दा बढी जनसंख्या खोप लगाइएको छ । पोलियो भाइरस दूषित पानीबाट एक व्यक्तिबाट अर्कोमा फैलिन्छ । यसले स्नायु प्रणालीमा आक्रमण गरेर प्यारालाइसिस निम्त्याउन सक्छ । २५ वर्षअघि सोही भाइरसका कारण अफ्रिकामा हजारौं बालबालिकामा प्यारालाइसिस भएको थियो ।

पोलियो संक्रमण लागिसकेपछि कुनै उपचार नभए पनि यसविरुद्धको खोपले बालबालिकालाई संक्रमणबाट बचाउँछ । हाल सो भाइरस अफगानिस्तान र पाकिस्तानमा भने बाँकी रहेको बताइएको छ ।

Loading...