राष्ट्रिय खेलाडी लामगादेमाथि कुटपिट, दुई जना पक्राउ

विराटनगर, १० भदौ । एथलेटिक्सकी कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकला लामगादेमाथि कुटपिट भएको छ ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई स्वर्ण पदक जित्न सफल झापा निवासी कीर्तिमानी खेलाडी लामगादेमाथि कुटपिट भएको हाे ।

सोमबार राति झापाको मेचीनगर चारआलीमा दलित युवकलाई कुटपिटबाट जोगाउने क्रममा चन्द्रकलासहित उनका श्रीमान सुमन खातीमाथि आक्रमण भएको थियो ।

स्थानीय छिमेकी दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुको कुटाईबाट चन्द्रकला घाइते भएकी छन् ।

घाइते चन्द्रकलाको अवस्था गम्भीर बनेपछि उनको बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ । उनी ७ महिनाकी गर्भवतीसमेत छन् ।

नेपाल पुलिसकी खेलाडी चन्द्रकलाले आठौं राष्ट्रिय खेलकुदमा दुई स्वर्ण जितेकी थिइन् । कोरोनाका कारण देशभर लकडाउन भएपछि उनी झापा गएकी थिइन् । उनले नौं महिना अघिमात्र विवाह गरेकी हुन् ।

जातीय विभेदसहित गालीगलौज गरेका श्रेष्ठ दाम्पत्तीलाई धुलाबारीस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । उनीहरूमाथि पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल एथलेटिक्स संघले कुटपिटमा संलग्नलाई कडा कारवाही गर्न माग गरेको छ । संघका अध्यक्ष राजीवविक्रम शाहले बुधबार एक विज्ञप्ति जारी गदै लामगादेमाथि कुटपिटको घटनाले दुःखी तुल्याएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

अध्यक्ष शाहले नेपाल एथलेटिक्स संघका तर्फबाट लामगादेको उपचारका लागि २१ हजार रुपैयाँ उपलब्ध गराउने पनि बताएका छन् ।

आठौं राष्ट्रिय खेलकूदअन्तर्गत महिला ज्याभलिन थ्रोमा लामगादेले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् ।

नेपाल पुलिस क्लबकी चन्द्रकलाले शुक्रबार ४४.०५ मिटर थ्रो गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।

उनले आफ्नै नाममा रहेको कीर्तिमान भंग गरेकी थिइन् । त्यसअघि उनले ४३.९४ मिटरको कीर्तिमान बनाएकी थिइन् । 

Loading...