स्वारेज पनि बार्सिलोना छोड्ने मनसायमा

एजेन्सी, १० भदौ । डच प्रशिक्षक रोनाल्ड कोइम्यान प्रशिक्षकका रूपमा बार्सिलोना आएसँगै क्याप नोउमा ‘खैलाबैला’ मच्चिएको छ ।

बार्सिलोना कप्तान लियोनल मेस्सीले क्लब छोड्ने औपचारिक जानकारी गराइसकेका छन् भने अर्का स्ट्राइकर लुइस स्वारेज पनि क्लब छोड्ने मनसायमा पुगेका छन् ।

मंगलबार साँझ अर्जेन्टिनी स्ट्राइकर मेस्सीले बार्सिलोनाबाट निरन्तरता नदिने भन्दै यसै समरमा क्लब छोड्ने वातावरण मिलाइदिन क्लबको बोर्डसँग आग्रह गरेका थिए ।

यस्तैमा उरुग्वेका स्टार स्वारेजले पनि यसै समरमा क्लब छोड्ने मनसाय बनाएको बताइएको छ ।

बार्सिलोनाका लागि धेरै गोल गर्ने खेलाडीको सूचिमा तेस्रो स्थानमा रहेका स्वारेजले नवनियुक्त प्रशिक्षक कोइम्यानको कुराले चित्त दुखाएका छन् ।

बार्सिलोनाका पूर्वखेलाडीसमेत रहेका कोइम्यानले फोन गरेर ६० सेकेण्ड गरेको कुराले स्वारेज निकै विचल्लित भएको बताइएको छ । कोइम्यानले स्वारेजलाई आफ्नो योजनामा नरहेको बताउँदै तत्काल विकल्प खोज्न भनेका थिए ।

स्वारेजले कोइम्यानको मुखबाट निस्किएका शब्दले आफू निकै दुखित भएको बताउँदै विकल्पको खोजीमा लागेको पनि बताएका छन् । खबरका अनुसार स्वारेजले सिरी ‘ए’ क्लब इन्टर मिलानसँग नयाँ सम्झौताको कुरा सुरु गरेका छन् ।

त्यसबाहेक उनको यात्रा अमेरिकी मेजर लिग सकरतिर लम्किन सक्ने जनाइएको छ । डेभिड बेकह्यामको क्लब इन्टर मियामी जाने चर्चामा रहेका उनीमाथ डच क्लब आयाक्सको पनि नजर छ ।

Loading...