कोइम्यानले मेस्सीलाई भने : तपाईंको विशेषाधिकार सकियो

कोइम्यानले मेस्सीलाई भने : तपाईंको विशेषाधिकार सकियो

एजेन्सी, १० भदौ । बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोइम्यानले क्लब छोड्ने चर्चामा रहेका कप्तान लियोनल मेस्सीलाई सहमतिको संकेत दिएका छन् । अर्जेन्टिनी स्टार आफ्नो प्रोजेक्टमा पर्ने बताउँदै आएका कोइम्यानले मेस्सीलाई क्बल छोड्ने दिने संकेत दिएका हुन् ।

३३ वर्षीय मेस्सीले क्याप नोउ छाड्ने औचापरिक निर्णय लिँदै आफ्नो सरुवाका लागि बार्सिलोनासँग सनसनीपूर्ण अनुरोध गरेका थिए । मंगलबार साँझ फ्याक्स गर्दै मेस्सीले क्लबसँग सम्झौतामा हेरफेर गर्न चाहेको जनाउँदै तत्काल लागू हुने गरेर आफूलाई रिलिज गर्न अनुरोध गरे ।

आफ्नो नेतृत्त्वमा खेल्न अनिच्छुक देखिएका मेस्सीले पुनः क्लब छोड्ने अडान दोहोर्‍याएपछि डच प्रशिक्षक कोइम्यानले मेस्सीको विशेषाधिकार सकिएको प्रतिक्रिया दिएका छन् ।

अर्जेन्टिनी मिडिया ‘डायरो ओले’का अनुसार कोइम्यानले मेस्सीलाई विशेषाधिकार सकिएको भन्दै क्लब छोड्न दिने संकेत गरेका हुन् ।

खबरका अनुसार मेस्सीसँगको पछिल्लो भेटमा कोइम्यानले भनेका छन्, ‘टिममा तपाईंको विशेषाधिकार सकिएको छ । तपाईंले टोलीका लागि सबै कुरा गर्नुपर्छ । म कडा हुन गइरहेको छु, तपाईंले टिमबारे सोच्नुपर्छ ।’

यसैगरी कोइम्यान मेस्सीलाई उनको सरुवाको लागि अन्तिम निर्णय दिन माग गरेका थिए । कोइम्यानले फकाउन चाहेता पनि मेस्सीले क्लब छोड्ने आफ्नो अडान छोडेनन् । सर्वाधिक धेरै छ पटकका बालाेन डी’ओर विजेता मेस्सीले नयाँ प्रशिक्षक कोइम्यानसँग काम गर्न नचाहेको कारण नै क्लब छोड्ने मनसाय गरेकाे बताइएकाे छ ।

त्यसबाहेक १४ अगस्टमा भएको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा जर्मन क्लब बायर्नसँगको ८–२ गोलान्तरको लज्जास्पद हारका कारण उनी क्लब छोड्ने मनसायमा पुगेका हुन् ।

मेस्सी र बार्सिलोनाबीचको सम्झौता एक वर्ष बाँकी छ । सो सम्झौताअनुसार मेस्सीले चाहेमा तत्काल लागू हुने गरेर बिनामूल्य क्लब छाड्न पाउने छन् ।

यता, बार्सिलोना भने सन् २०२१ सम्म कायम अनुबन्धअनुसार मेस्सीलाई अन्य क्लबले किन्न ७० करोड युरो तिर्नुपर्ने शर्त रहेको मान्छ । यद्यपि, मेस्सीको औपचारिक निर्णय बाहिर आएपछि बार्सिलोना बोर्डको बैठक चाँडै बस्ने भएको छ ।

मेस्सीको पछिल्लो अवस्थाबारे इंग्लिस म्यान्चेस्टर सिटीले अनुगमन गरिरहेको छ । त्यसबाहेक इटालियन क्लब इन्टर मिलान र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) समेत मेस्सी अनुबन्धनमा निकै इच्छुक छ ।