उपत्यकामा निषेधाज्ञाको अवधि एक साता थपियो

काठमाडौ, १० भदौ । काठमाडौँ उपत्यकामा निषेधाज्ञाको अवधि एक हप्ता थपिएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भदौ १७ गते राती १२ बजेसम्मका लागि उपत्यकाको तीनै जिल्लामा लागू हुने गरी निषेधको आदेश जारी गरिएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी एक साताका लागि निषेधको आदेश थप गरिएको जनाएको छ । कार्यालयले कोभिड–१९ को संक्रमण बढ्दो क्रममा रहेकाले निषेधको आदेशको पूर्ण कार्यान्वयन गर्न सबैमा आग्रह गरेको छ ।

यसअघि सोही विषयमा निर्णय गर्न मंगलबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको बैठक बसेको थियो । बैठकमा जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञा एक साता लम्क्याउन सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा एक साताका लागि उक्त आदेश थपिएको हो । यसअघि साउन ३ गते राती १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो । उक्त आदेश आज राती १२ बजे सकिँदै छ । कोभिड–१९ को संक्रमण बढ्दै गएकाले त्यसलाई रोक्न निषेधाज्ञाको समय थपिएको हो ।

निषेधाज्ञा जारी भएपछि अत्यावश्यकबाहेकका गतिविधि सञ्चालन गर्न पाइने छैन । कोभिड–१९ संक्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उपत्यकासहित नेपालमा झण्डै ५० जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । संक्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा सरकारको निर्देशनबमोजिम आदेश जारी गरिएको हो ।

निषेधाज्ञामा के–के गर्न निषेध छ ?

निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्रीलगायतका मालबाहक ढुवानीका सवारीसाधान, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौँ उपत्यकाभित्र सवारी प्रवेशमा समेत निषेध गरिएको छ । जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधनसमेत सञ्चालन गर्न पाइँदैन ।

कोभिड­१९ को संक्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा बिहान ९ बजेदेखि १०ः३० सम्म र बेलुका ३ बजेदेखि ५ः३० सम्म आवागमन गर्न पाउने छन् ।

अत्यावश्यक वस्तु वा सेवाअन्र्तगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दुध, विद्युत्, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्यरुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारीसाधन भने सञ्चालन गर्न पाइने छ ।

कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेला हुन, भिडभाड गर्न र सभा जुलुस गर्न पाइँदैन । परम्परागतरुपमा र दैनिकरुपमा भई आएको र दैनिक हुने आन्तरिक नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक सांस्कृतिक गतिविधि सञ्चालन तथा जमघट, सबै प्रकारका सभा गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, व्यूटीपार्लर, स्पा, स्वीमिङपुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय तथा चिडियाखाना सञ्चालन गर्न पाइने छैन । शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, ट्यूसन सेन्टर, भाषा कक्षालगायत जमघट हुने गतिविधिसमेत सञ्चालन गर्न पाइँदैन ।

त्यस्तै फुटपाथ वा खुला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय तथा कवाडी संकलन, होटल रेष्टुराँ, बैंकिङ सेवालगायत विभिन्न निकायहरुले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने र सो सम्भव नभएमा न्यून कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अत्यावश्यक सेवा प्रवाह गर्नुपर्ने छ । अत्यावश्यक कामका लागि घर बाहिर निस्कनु परेमा अनिवार्यरुपमा मास्कको प्रयोग र न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने छ । हवाई उडानबाट विदेश जानेहरुको हकमा पासपोर्ट, भिसा, कन्र्फम हवाई टिकट हुनेहरु सिधै विमानस्लथ जाने सवारी साधनको हकमा भने सहजीकरण गरिने छ ।

अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरुउपर कडा कारवाही गरिने जनाइएको छ । उपत्यकामा पानी र औषधिजन्य सामग्री बिक्री गर्ने व्यवसाय जुनसुकै बेला पनि खुला रहने तर अन्य खाद्यवस्तु, दुध, तरकारी, फलफूलका व्यवसाय भने बिहान ९ः१५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ ।

Loading...