राजेश हमालले छ सय प्राविधिकहरूको कोरोना बीमा गरिदिँदै

विराटनगर, १० भदौ । अभिनेता राजेश हमालले चलचित्र प्राविधिक संघमा आबद्ध प्राविधिकहरूको कोरोना बीमा गरिदिने भएका छन् ।

प्राविधिक संघका उपाध्यक्ष विनोद लामाले दिएको जानकारीअनुसार प्राविधिक संघका पदाधिकारीहरुसँगको भेटमा हमालले छ सय प्राविधिकहरूको कोरोना बीमा गरिदिने प्रतिबद्धता व्यक्त गरेका हुन् । बीमाका गरिदिनका लागि हमालले नामावली लिएर आउनसमेत आग्रह गरिसकेका छन् । नामको विषयमा छलफल गर्न बाँकी रहेको हुँदा संघले नामावली दिन सकेको छैन ।

निषेधाज्ञा खुल्नेबित्तिकै बैठक बसेर बीमाका लागि हमाललाई नाम पठाउने संघले जनाएको छ । हमालले छ सय प्राविधिकको बीमा गरिदिनुका साथै आर्थिक अवस्था कमजोर रहेका केही सदस्यहरूलाई आर्थिक सहयोगसमेत गर्ने भएका छन् । हाल प्रविधिक संघमा १३ सय बढी सदस्यहरू रहेका छन् ।

कोरोनाका कारण विगत छ महिनायता चलचित्र क्षेत्र ठप्प छ । कोरोनाको संक्रमण फैलिने जोखिमका कारण गरिएको लकडाउनमा विपन्न सिनेकर्मीको सहयोगमा अभिनेता राजेश हमालले बेवास्ता गरेको भनेर आरोपसमेत लगाइएको थियो ।

Loading...