कोभिड–१९ को खोपमा हतार नगर्न डा. फाउचीको चेतावनी

विराटनगर, १० भदौ । कोभिड–१९ को खोपमा हतार गर्न नहुने अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञले चेतावनी दिएका छन् ।

खोपको सुरक्षितता र प्रभावकारिता प्रमाणित नभएसम्म खोप वितरण गर्न हतार गर्न नहुने डा. एन्थोनी फाउचीले चेतावनी दिएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खोपको परीक्षण प्रक्रिया पूरा नभई प्रयोग थाल्ने योजनाको तयारीमा रहेको खबर आइरहेका बेला डा. फाउचीले चेतावनी दिएका हुन् ।

नेशनल इन्स्टिच्यूड अफ एलर्जी एन्ड इन्फेक्सस डिजिजका प्रमुख डा. फाउचीले परीक्षण नभएका खोपको प्रयोगमा हतार गर्दा अरु परीक्षण भइरहेका खोपहरु समेत प्रभावित हुन सक्ने बताएका छन् । पूर्णरुपमा परीक्षण नसक्दै खोपको प्रयोगका लागि आपतकालीन स्वीकृति दिन नहुने र खोप सुरक्षित र प्रभावकारी रहेको प्रमाण स्पष्टरुपमा स्थापित नभएसम्म खोपलाई प्रयोगमा ल्याउनै नहुने डा. फाउचीको भनाइ छ ।

डा. एन्थोनी फाउचीले यस वर्षको अन्तसम्ममा अमेरिकाले कोरोना भाइरस खोप पाउने अनुमान लगाएका छन् । खोप चाँडै नै प्रयोगमा ल्याएमा आउँदो नोभेम्बरमा हुने चुनावमा निर्वाचित हुने सम्भावना बलियो हुने विश्लेषणसहित ट्रम्पले खोप विकासमा हतार गर्न थालेको दाबी गरिन थालेको छ ।

Loading...