साढे चार महिनाअघि निको भएका व्यक्ति पुनः संक्रमित

विराटनगर, १० भदौ । साढे चार महिनाअघि कोरोना भाइरसद्वारा संक्रमित भएका व्यक्ति पुनः संक्रमित भएका भएका छन् ।

बीबीसीमा उल्लेख गरिएअनुसार हङकङका वैज्ञानिकहरूले ३० वर्षमाथिका यी व्यक्ति पुनः संक्रमित भएका संसारको पहिलो व्यक्ति भएको बताएका छन् । भाइरसको जिनोममा दुई कुरा नितान्त फरक रहेको पत्ता लागेको छ । हङकङ विश्वविद्यालयको रिपोर्टअनुसार १४ दिनसम्म अस्पतालमा बसेर निको भइसकेका व्यक्ति एयरपोर्टमा स्क्रिनिङको क्रममा उनी पुनः संक्रमित पाइएको जानकारी दिएको छ ।

पुनः संक्रमण भए पनि उनलाई कुनै लक्षण देखिएको थिएन । लण्डन स्कुल अफ हाइजिन तथा ट्रपिकल साइन्सका प्राध्यापक ब्रेन्डन रेनले यो पुनः संक्रमणको निकै दुर्लभ मामिला भएको कारण पहिलेको भन्दा गम्भीर नहुन पनि सक्ने बताएका छन् ।

उनका अनुसार भाइरस समयसँगै आफूलाई परिवर्तन गर्ने हुँदा कोभिड–१९ को भ्याक्सिन अत्यन्तै आवश्यक छ ।

विश्व स्वास्थ्य संगठनले एक बिरामीको आधारमा सिधा निष्कर्ष निकाल्न नमिल्ने बताएको छ । भाइरसबाट संक्रमित भएका मानिसहरूको शरीरमा भाइरसबाट लड्नका लागि इम्युन सिस्टम विकसित हुने हुँदा भाइरसको पुनः संक्रमण नहुने बताइन्छ । गम्भीररुपमा कोभिड–१९ द्वारा संक्रमित भएकाहरूमा सबैभन्दा बलियो प्रतिरोधी क्षमता पाइन्छ । तर, यो सुरक्षा र प्रतिरोधी क्षमता कहिलेसम्म रहन सक्छ भनेर अहिलेसम्म स्पष्ट जानकारी छैन ।

Loading...