Rumpum

Rumpum Advertisement

बेलबारीमा उपप्रमुखको संयोजकत्वमा अनुगमन

बेलबारीमा उपप्रमुखको संयोजकत्वमा अनुगमन

विराटनगर, १० भदौ । कोरोना महामारीका कारण ‘लकडाउन’ गरिएको मोरङको बेलबारी नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा अनुगमन थालिएको छ ।

नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीको संयोजकत्वमा कार्यपालिका सदस्य बिन्दुकला गुरुङ, इलाका प्रहरी कार्यलय बेलबारीका सइ हस्त थापा, समिति सदस्य अर्जुन कुलुङसहितको टोली अहिले बजार अनुगमनका खटिएको छ । समुदायस्तरमै कोरोना फैलिएको आंकलन गर्दै नगरपालिकाले ‘लकडाउन’ गरेको हो ।

पराजुलीले विभिन्न वडामा पुगेर अनुुगमन गर्दै ‘लकडाउन’को प्रभावकारी र संकटका बारेमा बुझ्ने काम भइरहेको बताइन् । ‘लकडाउन’ मा पानी पसल, दूध डेरी, अस्पताल र औषधि पसल लगायत खुल्ला छन् ।

नगरस्तरीय उपभोक्ता हित संरक्षण समिति संयोजक समेत रहेकी पराजुलीले व्यवसायीहरुलाई बजारमा अतिआवश्यक सामग्रीमा मूल्यवृद्धि नगर्न र सामग्रीको कृतिम अभाव सिर्जना नगर्न सुझाव दिएको बताइन् । मूल्यवृद्धि गर्ने व्यवसायीलाई आगामी दिनमा कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ । अनिआवश्यक बाहेकका पसलहरु बन्द गरेर भीडभाड नगर्न तथा ‘लकडाउन’ को पूर्ण रुपमा पालना गर्न समितिले सबैमा आग्रह गरेको छ ।

निरन्तर स्वास्थ्य सावधानी अपनाउन सम्पूर्ण नगरवासीमा अनुरोध गर्दै सडकमा हिँडडुल नगर्न, बन्दाबन्दी अवधिभर आआफ्नो घरमा सुरक्षित बस्न, मास्क, सेनीटाइजरको अनिवार्य प्रयोग गर्न, दूरी कायम गरेर स्वास्थ्य सतर्कता अपनाउन पनि समितिले सबैमा आग्रह गरेको छ ।

सञ्चालन गरिएका निजी गाडी, टेम्पो, सिटी सफारी, मोटरसाइकल तथा पैदल हिँडडुल गर्नेहरुलाई समेत सचेत गराइएको छ । मंगलबार एकै परिवारका तीन जनालाई कोरोना पोजेटिभ देखिएसँगै बेलबारीमा संक्रमित संख्या ३२ पुगेको छ ।