Rumpum

Rumpum Advertisement

कोरोना संक्रमणमा नेपाल र भारतका ट्रेड यूनियनकर्मीबीच छलफल

कोरोना संक्रमणमा नेपाल र भारतका ट्रेड यूनियनकर्मीबीच छलफल

विराटनगर, १० भदौ । कोराना भाइरस कोभिड–१९ को महामारीबाट यातायात श्रमिकहरुमा परेको प्रभावका सन्र्दभमा नेपाल र भारतका ट्रेड यूनियनकर्मीमाझ छलफल भएको छ ।

नेपाल यातायात मजदुर संघद्धारा आयोजित डिजिटल जुम मिटिङका क्रममा अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ दक्षिण एशियाका प्रमुख संगम त्रिपाठीले विश्वभरका श्रमिकहरुको अवस्था दिनानुदिन खराब बन्दै गएको बताएका छन् । सडक यातायात, हवाई, तथा रेल्वेका श्रमिक मजदुरलाई कोरोना भाइरससँगै लकडाउनले बढी प्रभावित बनाएको बताएका त्रिपाठीले सरकारले मजदुरको हकमा उचित व्यवस्थापन गर्न नसकेको गुनासो गरे ।

उनले भारतमा रहेका नेपाली मजदुरलाई समेत भारतीय सरकारले सही व्यवस्थापन गर्न नसकेको उल्लेख गरे । लकडाउनका नाममा हिँडडुलमा रोक लगाएको भारतीय सरकारले श्रमिकलाई गाँस, बासको जोहो गर्ने समय समेत दिन नसकेको उनको भनाइ छ ।

छलफलका क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोभिडको महामारीसँगै यातायात क्षेत्रका मजदुर अधिक प्रभावित भएको उल्लेख गरे । काठमाडौंमा मात्र लाखौंको संख्यामा ट्याक्सी मजदुर सेवाबाट बन्चित भएको बताउँदै नेता कोइरालाले जनताको पीर मर्कामा सरकार जवाफहीन बनेको बताए ।

कोभिडका कारण गएको सात महिनायता सरकारले सुशासन गुमाएको बताएका उनले कोभिड महामारीका बीच श्रमिकप्रति सरकार गैह्रजिम्मेवार बनेको बताए । त्यसैगरि छलफलमा भारत र नेपालबीच आत्मीय सम्बन्ध रहेको बताउँदै अल इण्डिया रेल्वेमेन फेडरेसनका महासचिव शिवा गोपाल मिश्राले लकडाउनका क्रममा भारतमा कार्यरत श्रमिकहरुलाई सरकारले बेवास्ता गरेको गुनासो गरेका थिए । कार्यक्रममा इण्डियन नेशनल ट्ेड यूनियन कांग्रेस(आइएनटियुसी)का सचिव महेन्द्र गरातले महामारीकाबीच सरकारले श्रमिकलाई राहत प्याकेज उपलब्ध गराउनु पर्नेमा जोड दिए ।

नेपालको ग्राहस्थ उत्पादनमा २९ प्रतिशत बैदेशिक रेमिट्यान्सको सहभागिता रहेको बताउँदै ट्रेड यूनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले सरकारले वैदेशिक श्रमिकलाई बेवास्ता गरेको आरोप लगाए । रेमिट्यान्स भित्राउने श्रमिकलाई घर फर्काउन हवाई टिकट, होटल क्वारेन्टिनमा शुल्क लगाउने सरकारका निर्णयमा उनले आपत्ति जनाएका थिए । कोभिड कारण दैनिक ज्याला मजदुरी गरि परिवार पाल्ने श्रमिक बढि प्रभावित भएको बताउँदै आचार्यले तीन तहका सरकारले दैनिक काम गर्ने श्रमिकको विषयमा जिम्मेवारीहिन भएको बताए ।

ट्रेड यूनियन कांग्रेसका अनुसार भारतबाहेक अन्य राष्ट्रमा करिब ३५ लाख नेपाली वैदेशिक रोजगारीका क्रममा रहेकाछन् । त्यसैगरि लकडाउनका क्रममा भारतबाट नेपालीहरु फर्कदा उचित क्वारेन्टिनको व्यवस्था गर्न नसक्दा अवस्था थप खराब भएको यूनियनको ठम्माइ छ । छलफलमा नेपाल ट्रेड यूनियनका उपाध्यक्ष अजयकुमार राई, यातायात मजदुर संघका बरिष्ठ सल्लाहकार बिजय स्वार, ट्रेड यूनियनका महासचिव योगेन्द्र कुँवरले सम्बोधन गरेका थिए । कार्यक्रमको अध्यक्षता यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारीले गरेका थिए ।