मेस्सीको बार्सिलोना छोड्ने अडान

एजेन्सी, १० भदौ । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्याप नोउ छाड्ने औपचारिक निर्णय लिँदै आफ्नो सरुवाका लागि अनुरोध गरेका छन् ।

मंगलबार साँझ फ्याक्स फयाक्स मार्फत मेस्सीले क्लबसँग सम्झौतामा हेरफेर गर्न चाहेकाले तत्काल लागू हुने गरेर आफूलाई रिलिज गर्न अनुरोध गरेका हुन् ।

च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा बायर्न म्युनिखसँग ८–२ गोलान्तरले पराजित भएपछि मेस्सीले क्लब छाड्ने मनसायमा थिए । ३३ वर्षीय मेस्सी र बार्सिलोनाबीचको सम्झौता एक वर्ष बाँकी छ ।

तर, उनी नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्त्वमा बार्सिनोलामा खेल्न अनिच्छुक देखिएका छन् ।

उनको सम्झौतामा आफूले चाहेमा तत्काल लागू हुने गरेर बिनामूल्य क्लब छाड्न पाइने उल्लेख छ । यसैअनुसार मेस्सीले सक्दो चाँडो आफूलाई क्लबाट बाहिर जाने वातावरण सिर्जना गरिदिन क्लबसँग आग्रह गरेका छन् ।

बार्सिलोना सन् २०२१ सम्म कायम अनुबन्धअनुसार मेस्सीलाई अन्य क्लबले किन्न ७० करोड युरो तिर्नुपर्ने शर्त रहेको मान्छ । मेस्सीको औपचारिक निर्णय बाहिर आएपछि बार्सिलोना बोर्डको बैठक चाँडै बस्ने भएको छ ।

मेस्सीको पछिल्लो अवस्थाबारे इंग्लिस म्यान्चेस्टर सिटीले अनुगमन गरिरहेको छ । त्यसबाहेक इटालियन क्लब इन्टर मिलान र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) समेत मेस्सी अनुबन्धनमा निकै इच्छुक छ ।

सन् २००४ यता बार्सिलोनाबाट खेलिरहेका उनले पहिलो पटक यसरी क्लब छाेड्ने मनसायमा पुगेका हुन् । उनले यो सिजनमा बार्सिलोनाको प्रदर्शनबाट निकै निराश भएको र बोर्डसँग पनि ठूलो असन्तुष्टि रहेको बताएका थिए ।

नयाँ प्रशिक्षक काेइम्यानसँगकाे पहिलाे बैठकमा पनि उनले क्लब छाेड्ने कुरा बताएका थिए । तर, काेइम्यान मेस्सी आफ्नो प्रोजेक्टमा पर्ने भन्दै उनलाई फकाउने प्रयास गरेका थिए ।

Loading...