Rumpum

Rumpum Advertisement

चौथो खेलमा अमेजनविरुद्ध जमैकाको जित, सन्दीपले लिए एक विकेट

चौथो खेलमा अमेजनविरुद्ध जमैकाको जित, सन्दीपले लिए एक विकेट

विराटनगर, १० भदौ । जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटअन्तर्गत नेपाली राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तलावाजले जित निकालेको छ ।

बुधबार बिहान आफ्नो चौथो खेल खेलको सन्दीप सम्मिलित टोली जमैकाले गुएना अमेजन वारियर्समाथि पाँच विकेटको जित निकालेको हो ।

ट्रीनिडाड एन्ड टोबेगोस्थित क्विन्स पार्क ओभलमा भएको खेलमा गुएनाले दिएको १०९ रनको लक्ष्य पछ्याएको जमैकाले १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो ।

जमैकाको जितमा एनक्रुमाह बोनरले अजिवित ३० रन बनाए भने ग्लेन फिलिप्सले २६ रन जोडे । आन्द्रे रुसेल र जर्माने ब्लाकवूडले समान २३–२३ रन जाडे ।

बलिङतर्फ नवीन उल–हकले दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको गुएनाले निर्धारित २० ओभर खेल्दा ९ विकेटको क्षतिमा १०८ रन बनाएको थियो । उसका लागि रोज टेलरले २३ रन बनाउँदा नवीन उल–हकले २० रन जोडे ।

बलिङतर्फ फिदल इदवार्ड र मुजीव उर रहमानले समान ३–३ विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिए । सन्दीपले ४ ओभरमा १२ रन खर्चिएर एक विकेट झारेका हुन् ।

यससँगै जमैकाले दोस्रो जित निकालेको छ । पहिलो खेल जितेको सन्दीपको टोली जमैका त्यसपछिका दुई खेलमा लगातार पराजित भएको थियो ।

जमैकाले पहिलो खेलमा सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले तथा तेस्रो खेलमा गुएना वारियर्ससित १४ रनले पराजित भएको थियो ।

जमैका ४ खेलमा दुई जित र दुई हारका साथ ४ अंक जोडेर प्रतियोगिताको अंकतालिकामा चौंथो स्थानमा छ ।

सन्दीपले हालसम्म खेलेका चार खेलमा पाँच विकेट लिएका छन् । सन्दीपले आइतबार गुएनासितको तेस्रो खेलमा चार ओभरमा ८ रन खर्चिएर २ विकेट लिएका थिए ।

सन्दीपले सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा ४ ओभरमा २३ रन खर्चेर एक विकेट लिएका थिए । यस्तै ट्रिनबागो नाइट राइडर्सविरुद्ध भएको दोस्रो खेलमा उनले ४ ओभरमा ३० रन दिँदै एक विकेट लिएका थिए ।