सहलगानीमा सुरुङमार्ग निर्माण गर्न सहमति

विराटनगर, १० भदौ । लामो समयदेखि चर्चामा रहेको पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग सङ्घीय सरकार र बागमती प्रदेश सरकारको सहलगानीमा निर्माण हुने भएको छ ।

कम समय र खर्चमा सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेश राजधानी हेटाँैडा आवतजावत गर्न सकियोस् भन्ने उद्देश्यसहित अगाडि सारिएको उक्त सुरुङमार्गको निर्माणका लागि सहलगानीको ढाँचा तय गर्न समिति निर्माण गरी काम अगाडि बढाइएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको गौरव आयोजनाका रूपमा रहेको काठमाडौँ–हेटौँडा सुरुङमार्गको निर्माण सहलगानीमा गर्न सङ्घीय सरकार र प्रदेश सरकारबीच सहमति भएको जानकारी दिए ।

बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटमा समेत उक्त सुरुङमार्गको निर्माण कार्य सङ्घीय सरकारको सहलगानीमा अगाडि बढाउने उल्लेख गरेको छ । रणनीतिक महत्वको सो आयोजनालाई अगाडि बढाउन सङ्घ र प्रदेशबीच हुने सहलगानीको ढाँचा तय गर्न सङ्घीय सरकार र प्रदेश सरकारका पदाधिकारी सम्मिलित एक समिति गठन गरी कामसमेत अगाडि बढाइएको उनले जानकारी दिए ।

उक्त सुरुङमार्ग निर्माणका लागि तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको जानकारी दिँदै उनले सुरुङमार्गबारे सरकारले केही दिनअघि निर्धारण गरेको मापदण्डअनुसार सो डीपीआर छ÷छैन भन्नेबारे अहिले विस्तृत अध्ययन भइरहेको बताए । तयार पारिएको डीपीआरअनुसार सो सुरुङमार्गको कुल लम्बाइ ३.२५ किलोमिटर हुनेछ भने आउन र जानका लागि छुट्टाछुट्टै सुरुङमार्ग निर्माण गरिने छ ।

त्यसैगरी सुरुङमार्गको चौडाइ ५.२ मिटर र सुरुङको दुवैतिर गरी साढे दुई किमी लामो सहायक सडक र तीनवटा पुल निर्माण गरिने छ । मुआब्जासहित सो सुरुङमार्ग निर्माणको कुल लगानी १९ अर्ब ३२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...