साल्जबर्गसँग लिभरपुल बराबरीमा रोकियो

एजेन्सी, ९ भदौ । क्लब मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब लिभरपुलले अष्ट्रियन क्लब रेडबुल साल्जबर्गसँग बराबरी खेलेको छ । मंगलबार राति भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका हुन् ।

अष्ट्रियाको टीबीसी टेक्समा भएको खेलमा लिभरपुलका लागि दुवै गोल रिहान ब्रेस्टरले गरे भने पास्टन डाकाले दुई गोल गरे । खेलमा साल्जबर्गले सुरुआती अग्रता बनाएको थियो ।

खेलको तेस्रो मिनेटमा डाकाले गोल गर्दै साल्जबर्गलाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै खेलको १३औं मिनेटमा उनले दोस्रो गोल गर्दै पहिलो हाफभरि साल्जबर्गको अग्रता दोब्बर बनाए ।

खेलको ७२औं र ८१औं मिनेटमा ब्रेस्टरले गोल गरेपछि लिभरपुल बराबरीमा फर्कियो । र, बाँकी समय गोल हुन नसक्दा दुवै टोलीले २–२ गोलको बराबरी खेले ।

प्रिमियर लिग विजेता लिभरपुलले एफए कपको फाइनल खेलको तयारीका रूपमा यस खेललाई हेरेको छ ।

एफए कपको फाइनलमा लिभरपुलले आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल आगामी शनिबार वेम्ब्ली स्टेडियममा हुनेछ ।

यता, साल्जबर्गले पनि यस खेललाई अष्ट्रियन कपको तयारीका रूपमा हेरेको छ । साल्जबर्गले आगामी शनिबारबाट नै अष्ट्रियन कप थाल्दैछ ।

Loading...