रिहा भएलगत्तै पक्राउ परे विप्लव समूहका केन्द्रीय सदस्य चन्द

भाेजपुर, ९ भदाै । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व समूहका केन्द्रीय सदस्य तथा मध्यपश्चिम इन्चार्ज चन्द्रबहादुर चन्द साधारण तारिकमा रिहा भएलगतै पुनः पक्राउ परेका छन् ।

हातहतियार तथा साङ्गठानिक अपराधलगायत चार मुद्दामा पक्राउ पर्नुभएका चन्दलाई जिल्ला अदालत भोजपुरले रु ६० हजार धरौटीमा रिहा गर्ने फैसला गरेको भएपनि चन्दले धरौटी तिर्न नसकेपछि कारगार चलान गरिएको थियो ।

सर्वोच्च अदातलमा गैर कानुनी रूपमा कारगार चलान भएको भनि बन्दिप्रत्यक्षीकरणको रिट परेपछि न्यायाधीशहरू दीपक कार्की र प्रकाशमान सिंह राउतको आदेशमा बिनाधरौती मंगलबार रिहा गरिएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।

भोजपुरबाट रिहा हुनेबितिकै चन्दविरुद्ध संखुवासभा जिल्लामा पनि हातहतियार तथा साङ्गठानिक अपराधसम्बन्धि नै मुद्दा रहेकोले पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

चन्दलाई १५ साउनमा काभ्रेपलाञ्चोकबाट नियन्त्रण लिएर भोजपुर ल्याइएको थियो ।

Loading...