सीपीएल : चौथो खेलमा अमेजनविरुद्ध खेल्दै सन्दीप

विराटनगर, ९ भदौ । जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी ट्वान्टी क्रिकेटअन्तर्गत नेपाली राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछानेले आफ्नो चौथो खेल बुधबार बिहान खेल्दैछन् ।

सन्दीप सम्मिलित टोली जमैका तलावाजले चौथो खेलमा गुएना अमेजन वारियर्ससित प्रतिस्पर्धा गर्नेछ । ट्रीनिडाड एन्ड टोबेगोमा हुने जमैका र वारियर्सबीचको खेल बुधबार बिहान सवा तीन बजे सुरु हुनेछ ।

क्विन्स पार्क ओभलमा हुने उक्त खेलमा जमैका दोस्रो जितको पर्खाइमा हुनेछ । पहिलो खेल जितेको सन्दीपको टोली जमैका त्यसपछिका दुई खेलमा लगातार पराजित भएको थियो ।

जमैकाले पहिलो खेलमा सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले तथा तेस्रो खेलमा गुएना वारियर्ससित १४ रनले पराजित भएको थियो ।

जमैका ३ खेलमा एक जीत र दुई हारका साथ २ अंक जोडेर प्रतियोगिताको अंकतालिकामा चौंथो स्थानमा छ भने गुएना चार खेलमा दुईमा जीत तथा दुईमा हार बेहोर्दै चार अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा छ ।

सन्दीपले हालसम्म खेलेका तीन खेलमा चार विकेट लिएका छ । सन्दीपले आइतबार गुएनासितको तेस्रो खेलमा चार ओभरमा ८ रन खर्चिएर २ विकेट लिएका थिए । यो उनको हालसम्मकै उत्कृष्ट खेल प्रदर्शन थियो ।

सन्दीपले सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा ४ ओभरमा २३ रन खर्चेर एक विकेट लिएका थिए । यस्तै ट्रिनबागो नाइट राइडर्सविरुद्ध भएको दोस्रो खेलमा उनले ४ ओभरमा ३० रन दिँदै एक विकेट लिएका थिए ।

Loading...