कोरोना संक्रमित बोल्टको ‘बर्थडे पार्टी’मा सहभागी स्टर्लिङको रिपोर्ट नेगेटिभ

एजेन्सी, ९ भदौ । जमैकन धावक उसैन बोल्टको बर्थडे पार्टीमा सहभागी म्यानचेस्टर सिटीका स्टार फुटबलर रहीम स्टर्लिङको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

वर्ल्ड रेकर्डधारी बोल्टलाई कोरोना संक्रमण पुष्टि भएपछि परीक्षण गराएका इंग्ल्याण्डका स्टार स्टर्लिङको रिपोर्ट नेगेटिभ आएको हो ।

सोमबार राति सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै बोल्टले आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका थिए ।

ट्वीटरमा एक भिडियो पोस्ट गर्दै उनले शनिबार गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको जनाएका थिए ।

त्यसअघि २१ अगस्टमा उनले जमैकामा आफ्नो ३४औं जन्मदिन एक भव्य पार्टी दिँदै मनाएका थिए । त्यहाँ स्टर्लिङ र बायर लिभरकुसेनका लियोन बेलेसहित अन्य स्टारहरूको समेत सहभागिता रहेको थियो ।

बोल्टले सन् २०१७ मा नै खेल जीवनबाट सन्यास लिएका थिए । उनको नाममा १०० मिटरमा विश्व कीर्तिमान रहेको छ ।

Loading...