प्रहरी घेराबाट भाग्न खोजेपछि…

ओखलढुंगा, ९ भदौ । ओखलढुंगामा एक कैदी लडेर घाइते भएका छन् । प्रहरी घेराबाट भाग्न खोज्दा सिद्धिचरण नगरपालिका–९ का २५ वर्षीय रविराज रम्तेल लडेर घाइते भएका हुन् ।

कर्तव्य ज्यान मुद्दामा ओखलढुंगा कारागारमा रहेका उनी भाग्न खोज्दा लडेर घाइते भएका हुन् । उनको हात, खुट्टा र ढाँडमा चोट लागेको छ ।

मंगलबार प्रहरी घेराबाट उम्किएर सडकबाट तल हामफालेका रम्तेललाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार ओखलढुंगा जिल्ला अदालतमा पेशीका लागि लगेर फर्कँदै गर्दा प्रहरी घेराबाट भाग्न खोज्दा लडेर घाइते भएको कारागार प्रमुख चुडामणि अर्यालले बताए ।

घाइते रम्तेललाई ओखलढुंगा स्वास्थ्य चौकीमा सामान्य उपचार गरी कारागारमा राखिएको छ । उनी यसअघि पनि प्रहरी घेराबाट पटक–पटक भाग्ने प्रयास गरेका थिए ।

गतवर्ष फागुनमा मोलुङ गाउँपालिका–६ को पेशल आधारभूत विद्यालयकी शिक्षिका हिरादेवी कटुवाल कार्कीको हत्या गरेको आरोपमा रम्तेल र उनकी श्रीमती पक्राउ परेका थिए ।

रम्तेलविरुद्ध ओखलढुंगा जिल्ला अदालतमा थुन छेकको मुद्दा चलिरहेको छ ।

मोलुङ गाउँपालिका–५ स्थायी घर भएकी शिक्षिका कटुवालको विद्यालय जानेक्रममा बाटोमा हत्या भएको थियो ।

Loading...