Rumpum

Rumpum Advertisement

सुनसरी प्रहरीको हिरासतका २१ जनामा कोरोना संक्रमण

सुनसरी प्रहरीको हिरासतका २१ जनामा कोरोना संक्रमण

विराटनगर, ९ भदौ । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका २१ थुनुवालाई कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न मुद्दामा पक्राउ परेका २१ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार संक्रमण पुष्टि भएकाहरु विभिन्न मुद्दाका आरोपीहरू छन् । उनका अनुसार पाँचजना हत्या आरोपमा पक्राउ परेकाहरु छन् । लागूऔषध, सवारी ज्यान, बलात्कारलगायत मुद्दामा उनीहरु पक्राउ परेका हुन् ।

संक्रमण पुष्टि भएका थुनुवाहरुमध्ये कोशी गाउँपालिकाका पाँच, देवानगञ्ज गाउँपालिकाका तीन, गढी गाउँपालिकाका एक, इटहरी उपमहानगरका दुई, भोक्राहाका छ, इनरुवाका एक र बराहक्षेत्र नगरपालिकाका तीन लगायत छन् । उनीहरुको आइतबार स्वाब संकलन गरिएको थियो ।

प्रहरी उपरीक्षक थापाका अनुसार आठजना थुनुवा छुट्टै स्थानमा राखिएका छन् । संक्रमण पुष्टि भएकाहरु भने एउटै हिरासत कक्षमा थिए । उनीहरुलाई थुनुवाबाटै कोरोना सरेको आशंका गरिएको छ ।

थुनुवालाई नै कोरोना संक्रमण देखिएपछि मुद्दाको अनुसन्धान र कारवाही प्रक्रिया अन्योलमा परेको छ ।

मंगलबार सनुसरीमा २१ थुनुवासहित ४८ जना संक्रमित थपिएका छन् । प्रदेश १ मा आज १०९ जनामा संक्रमण देखिएको थियो ।