महिला क्रिकेट टोलीको कोरोना बीमा

विराटनगर, ९ भदौ । राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडीको कोरोना बीमा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले १८ महिला खेलाडीको कोरोना बीमा गरिएको जानकारी दिएको छ ।

क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै दोस्रो चरणमा १८ जना सिनियर राष्ट्रिय महिला क्रिकेट खेलाडीको कोरोना बीमा गरेको जनाएको छ । यद्यपि, क्यानले बीमा गरिएको खेलाडीको नामावली भने सार्वजनिक गरेको छैन ।

यसअघि क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीसहित ५१ जनाको कोरोना बीमा गरेको थियो । क्यानले पहिलो चरणमा पुरुष राष्ट्रिय क्रिकेट टोलीका २५ खेलाडी तथा त्रिभुवन विश्वविद्यालय खेल मैदान, मुलपानी क्रिकेट मैदानका कर्मचारी तथा क्यान कार्यालयका कर्मचारीको कोरोना बीमा गरेको थियो ।

क्यानले खेलाडी, मैदानका कर्मचारी तथा कार्यालयका कर्मचारीको प्रत्येकको एक वर्षको रु एक लाख बराबरको कोराना बीमा गरेको हो । कोरोना महामारीलाई ध्यानमा राख्दै बीमा गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जनाएका छन् ।

Loading...