नाका शील हुँदा स्थानीय उत्पादनले बजार पायो, प्रदेश १ बाट भारत जाने मासिक डेढ अर्ब रोकियो

विराटनगर, ९ भदौ । विराटनगर–४ कञ्चनबारीमा रहेको अमित किरानाका सञ्चालन अमित शर्माले नेपालकै मात्र उत्पादन बिक्री गर्न थालेको चार महिना भयो ।

चैतबाट सुरु भएको लकडाउनसँगै सीमानाका बन्द भएपछि सीमापारिबाट क्यारियरवालाले ल्याउने भारतीय सामान आउन ठप्प भयो । भारतीय समान नै आउन छाडेपछि उनले पसलभरि नेपालकै उत्पादन राखे ।

विराटनगरमा रहेको भाटभटेनी सुपरस्टोरले पछिल्लो समय ९८ प्रतिशत तरकारी नेपालकै उत्पादन बिक्री गरिरहेको छ । आलु र प्याजबाहेकका तरकारी प्रदेश १ कै किसानबाट किनेर भाटभटेनीले बिक्री गरिरहेको हो ।

प्रदेश १ मा विराटनगर र काँकडभिट्टालगायतका नाकाबाट भारतीय बजारमा गएर किनमेल गर्ने नेपालीको परम्परा छ । तर कोरोना नियन्त्रणका लागि पाँच महिनायता नाका शील छ ।

यी नाकाबाट दैनिक पाँच करोड नेपाली रुपैयाँ भारतीय बजारमा पुग्थ्यो । दैनिक उपभोग्य बस्तु खरिदको नाममा सिमाना पारि भारतीय बजारमा लकडाउन अघिसम्म मासिक एक सय ५० करोड नेपाली रुपैयाँ पुग्ने गरेको थियो ।

चार महिनायता नेपाल–भारत सिमानामा दुवैतर्फबाट आवतजावत पूर्ण बन्देज गरिएपछि भारतमा हुने किनेमेलमा पूर्ण रोकावट आएपछि नेपाली उत्पादनको खपत बढेको छ । कोरोना महामारीको कारण सबैतिर नकारात्मक प्रभाव परिरहेको बेला बजारका उपभोक्ता भने नेपाली उत्पादनतर्फ मोडिएपछि नेपाली बस्तुको खपत बढेको हो ।

कञ्चनबारीका किराना पसल सञ्चालक अमित शर्मा भन्छन्, ‘अहिले नेपाली उद्योगहरुले उत्पादन नै पठाउन सकिरहेका छैनन्, बिस्कुट, चाउचाउ, तेल, दाल, चामलको खपत सबैभन्दा राम्रो छ ।’

शर्माका अनुसार सीमा क्षेत्रको भारतीय बजार जोगवनीमै सस्तो पाउँछ भनेर जोगवनी जानेहरु रोकिएपछि अहिले किराना पसलहरुको बिक्रीसमेत दैनिकरुपमा बढेको छ । पहिले दैनिक २० हजारसम्मको सामान बिक्री गर्ने आफूले लकडाउनको अवधिमा ४० हजारको बिक्री गरिरहेको उल्लेख गरे ।

विराटनगरमा रहेको भाटभटेनी सुपरस्टोरले पछिल्लो समय ९८ प्रतिशत तरकारी नेपालकै उत्पादन बिक्री गरिरहेको छ । लकडाउनमा विराटनगरमा भारतबाट निर्वाध चोरीको बाटो भएर तरकारी भित्रिने गरे पनि अहिले नाका शील भएका कारण नेपाली किसानको उत्पादनले बजार र मूल्य दुबै पाएको सुपर स्टोरका प्रबन्धक विनोद भट्टराईले बताए ।

भट्टराईका अनुसार भाटभटेनीमा लकडाउनको अवधिमा नेपाली उद्योगका उत्पादनको बिक्री ५० प्रतिशतले बढेको छ । सामान्य अवस्थामा भन्दा लकडाउनको अवधिमा नेपाली उत्पादनप्रति नै उपभोक्ता आकर्षित भएको उनले बताए ।

केही उपभोग्य उत्पादनबाहेक भाटभटेनीले लकडाउनको अवधिमा कुनै बस्तुमा पनि मूल्य नबढाएको भट्टराईले जानकारी दिए । उनले भने, ‘हामी उपभोक्ताको हितलाई नै बढी ध्यान दिन्छौं, हामीले विदेशी उत्पादनभन्दा बढी नेपाली उत्पादनलाई नै प्राथमिकतामा राखेको छौं ।’

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा कोभिड १९ को कारण नेपाल–भारत सीमा बन्द गरिएपछि त्यसको सकारात्मक असर नेपाली उत्पादनको खपतमा देखिएको बताउँछन् । उनी भन्छन्, ‘कोरोनाको कारण चारैतिर नकारात्मक असर परिरहेको बेला स्थानीय उत्पादनको खपत बढ्नु सकारात्मक हो । यसले स्थानीय उत्पादनकर्ता र व्यवसायीको मनोवल यो महामारीमा पनि उच्च बनाएको छ ।’

मुन्दडाका अनुसार पहिले दैनिकरुपमा नेपाली उपभोक्ता भारतीय बजारबाट चिनी, दाल, तेल, बिस्कुट, चाउचाउ, चकलेट, भाँडाकुँडा र कपडासमेत खरिद गरेर ल्याउँथे । तर अहिले सीमा बन्द भएका कारण ती सम्पूर्ण सामग्रीहरु नेपालमै उत्पादन भएको खरिद गरिरहेका छन् । जसले स्थानीय अर्थतन्त्रलाई समेत सकारात्मक प्रभाव पारेको छ ।

उनी भन्छन्, ‘प्रदेश १ बाट भारतीय बजारमा मासिकरुपमा पुग्ने एक सय ५० करोडको खपत नेपाली बजारमै हुन थालेको यो सुखद पक्ष हो । चार महिनामा ६०० करोड भारत पुग्नबाट जोगिएको छ ।’

मुलुकभरका १२ मुख्य नाका पारि भारतीय बजारमा सामान्य अवस्थामा लाखौं नेपाली उपभोक्ता किनमेल गरेर फर्कने गरेका थिए । जसबाट मासिक रुपैयाँ १५ हजार करोड नेपाली रुपैया“ भारतीय व्यापारीसँग पुगिरहेको थियो । तर लकडाउन सकिएपछि पनि सरकारले नेपाल–भारत सीमामा कडाइँ गर्दा मात्र नेपाली उत्पादनले नेपालमै राम्रो बजार पाउँछन् ।

सरकारले नेपालमै उत्पादन भएका बस्तुमा अत्यधिक कर लगाउने गरेकाले नेपाली उत्पादनको तुलनामा भारतीय बस्तु सस्तो पर्ने भएकाले भारतीय बजारतर्फ नेपाली उपभोक्ता आकर्षित भएका हुन् । कतिपय उपभोक्ताले नेपालकै उत्पादन भारतीय बजारबाट किनेर ल्याइरहेकोसमेत देखिएको छ ।

उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष सुयष प्याकुरेलले लकडाउनको अवधिभर सीमा नाकाबाट अवैधरुपमा नेपालभित्र नै दैनिक उपभोग्य सामान, मेसिनरी, लुब्रिकेन्ट, जुत्ताचप्पल, कपडा र कृषि उत्पादनहरु बन्द भएपछि नेपाली बजारमा यहाँका उत्पादनले राम्रो बजार पाएको बताए ।

नेपालका उद्योगहरुले कच्चापदार्थ, मेसिनरी, दक्ष जनशक्तिसमेतमा भारतसँग निर्भर रहनु परेकाले भारतीय उद्योगको उत्पादनभन्दा नेपाली उद्योगको उत्पादन महँगो परिरहेको उल्लेख गरे । प्याकुरेल भन्छन्, ‘लकडाउन खुले पनि नाका भने अहिलेझैं शील नै हुनुपर्छ, जसले अवैध कारोबारलाई रोक्छ र नेपाली उद्योग र व्यवसायीलाई निकै ठूलो राहत हुन्छ ।’

विराट व्यापार संघका अध्यक्ष सुजन थापा सीमानाका शील हुँदा लकडाउनकै अवधिमा पनि विराटनगर बजारको खरिदबिक्री निकै राम्रो भएको बताउँछन् । बिहानदेखि मध्यान्हसम्म पसलहरु खुला हुँदा व्यापारी र व्यवसायीले अपेक्षाकृत नै व्यापार सञ्चालन गरेका थिए ।

पछिल्लो समय विराटनगरमा कोरोना संक्रमणको दर बढेपछि भने अहिले बजार बन्द छ । बजार बन्द हुनु अगाडिसम्म स्थानीय बजारमा स्थानीय उत्पादनको माग निकै राम्रो भएको अनुभव उनको छ ।

सरकारले नाकालाई सधैंका लागि यसरी शील गर्ने हो भने ५० प्रतिशत राजश्वमा वृद्धि हुने थापा बताउँछन् । थापाका अनुसार अहिले स्थानीय उत्पादन चिनी, तेल, दाल, तरकारी, माछा, मासु, चामल, बिस्कुट, मैदा, आँटाको माग बढी छ । यी सबै सामग्रीहरु नाका खुला भएको बेला भारतीय बजार जोगवनीबाट उपभोक्ताले झोला लिएर आउने गरेका थिए ।

Loading...