Rumpum Advertisement

विराटनगरको प्रहरी गणका ८७ कर्मचारीमा कोरोना

विराटनगरको प्रहरी गणका ८७ कर्मचारीमा कोरोना

विराटनगर, ९ भदौ । नेपाल प्रहरीको सशस्त्र प्रहरी गण रानी विराटनगरमा कार्यरत ८७ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश १ मा नेपाल प्रहरीभित्र कोरोना भाइरस संक्रमितको संख्या दुई सयभन्दा बढी छ । तीमध्ये ८७ जना एउटै कार्यालयका हुन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार दुई सय ११ जना प्रहरीमा कोरोना पुष्टि भएको छ ।

संक्रमितमध्ये ४६ जना उपचारपछि कोरोना जितेर डिस्चार्ज भएका छन् । एक सय ६६ संक्रमित प्रहरी उपचाररत छन् ।

नेपाल प्रहरीको सशस्त्र प्रहरी गण रानी विराटनगरमा कार्यरत ८७ जनामा संक्रमण देखिएको छ । प्रदेश १ प्रहरी कार्यालयमा ४०, तालिम केन्द्रमा १२, मोरङमा १३, सुनसरीमा १३, झापामा १२ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै दंगा नियन्त्रण प्रहरी गण दुहवीमा १२, खोटाङमा छ, धनकुटामा चार, ओखलढुंगा, भोजपुर र इलाममा तीन÷तीन, पाँचथर, संखुवासभा र उदयपुरमा एक÷एक जना प्रहरीमा कोरोना देखिएको छ । प्रदेशसभा सचिवालयका मर्यादापालक एक प्रहरीमा पनि कोरोना पुष्टि भएको छ ।

धनकुटामा कार्यरत दुई प्रहरीमा पहिलो पटक जेठ ५ गते कोरोना देखिएको थियो । साउन ७ गते प्रदेश कार्यालयमै एक सिनियर अधिकृतमा कोरोना पुष्टि भएको थियो ।

कोरोना प्रभावित बनेको रानीस्थित गणमा साउन २१ गते एक महिला प्रहरी जवानमा संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि सतर्कता नअपनाउँदा गणमा फैलिएको हो ।

ध्यान नदिँदा फैलियो कोरोना

गणका कर्मचारीमा कोरोना देखिएपछि ‘क्वारेन्टाइन’मा राख्दै पीसीआर परीक्षण गर्नुपर्ने भएपछि त्यसो नगरिएको प्रहरीका एक उच्च अधिकारीले बताए ।

सतर्कता अपनाउनुको साटो गणमा रहेकालाई अन्यत्रका कार्यालयतिर लैजाने र अन्यत्रबाट ल्याएर नयाँलाई गणमा राखिएको स्रोतको दावी छ ।

एसपी (प्रहरी उपरीक्षक)को नेतृत्वमा रहने गण ‘रिजर्ब फोर्स’ राख्ने नेपाल प्रहरीको युनिट हो । ‘रिजर्ब फोर्स’लाई आवश्यकताअनुसार थप मद्दतका लागि परिचालन गरिन्छ ।

गणमा कोरोना देखिएको पर्सिपल्ट साउन २३ गते ठूलो संख्यामा प्रहरी फेरबदल गरियो । साउन २३ मा गणबाट लगेर खोटाङमा ‘क्वारेन्टाइन’मा राखिएका छजना प्रहरीमा साउन ३१ गते कोरोना कोरोना पुष्टि भएको थियो । ओखलढुंगामा पनि गणबाटै लगिएका एक प्रहरीमा कोरोना पुष्टि भएको थियो ।

पछिल्लो समय संक्रमण पुष्टि भएकामध्ये झापाका आठ, सुनसरीको दुहवीस्थित गणका छ, खोटाङका छ, ओखलढुंगाका तीन, संखुवासभा र मोरङका एक÷एकजना विराटनगरस्थित सशस्त्र गणबाटै पठाइएका प्रहरी रहेको स्रोतको दावी छ ।

गणमा संक्रमण देखिएपछि स्थानान्तरण र फेरबदलको काम नरोकिँदा अहिले प्रहरीभित्र ठूलो संख्यामा संक्रमण फैलिएको तथा सबै हिसाबले ‘फ्रन्टलाइन’मा खटिनु पर्ने प्रहरी संक्रमित भएर बस्नु पर्ने अवस्था आएको नेपाल प्रहरीका पूर्व डीएसपी रामजी कटुवालले बताए । कोरोना देखिएको कार्यालयबाट फेरबदल गर्नु लापरबाही भएको कटुवालले बताए ।

असारयता प्रदेश १ मा दुई हजार ४४ प्रहरीलाई स्थानान्तरण गरिएको छ । स्थानान्तरणका क्रममा पनि संक्रमणबाट बच्न अपनाउनु पर्ने कुनै पनि सुरक्षात्मक उपाय नअपनाइएको प्रहरी स्रोतको दावी छ ।

सरुवा सामान्य प्रक्रिया

प्रदेश १ प्रहरी प्रमुख डिआईजी ईश्वरबाबु कार्की प्रहरी सरुवा सामान्य प्रक्रिया रहेको बताउँछन् । पछिल्लो समय स्थानान्तरण बन्द गरिएको उनले बताए ।

‘स्थानान्तरण गरिसकेपछि सम्बन्धित ठाउँमा पु¥याएर ‘क्वारेन्टाइन’मा राखेर जाँचपछि मात्र काममा खटाउने गरिएको थियो,’ उनले भने, ‘प्रहरीभित्रको स्थानान्तरण सामान्य प्रक्रिया हो । सतर्कता अपनाएका छौं ।’