केही दिनअघि भव्य ‘बर्थडे पार्टी’ गरेका उसैन बोल्टलाई कोरोना संक्रमण

एजेन्सी, ९ भदौ । जमैकन धावक उसैन बोल्टलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार राति सामाजिक सञ्जालमा वर्ल्ड रेकर्डधारी बोल्टले आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका हुन् ।

ट्वीटरमा एक भिडियो पोस्ट गर्दै उनले शनिबार गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको जनाएका छन् । यस्तै उनले आफूलाई कुनै पनि लक्षण नदेखिएको जनाउँदै हाल क्वारेन्टाइनमा रहेको जानकारी दिएका छन् ।

भिडियोमा उनले भनेका छन्, ‘म जिम्मेवार बन्ने प्रयासमा छु यसैले अब क्वारेन्टाइनमा बस्दैछु । शनिबार गराएको परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ । मलाई कुनै लक्षण थिएन । अब क्वारेन्टाइन बसेर यसबाट मुक्त हुनेछु ।’

२१ अगस्टमा उनले जमैकामा आफ्नो ३४औं जन्मदिन एक भव्य पार्टी दिँदै मनाएका थिए ।

जमैकाका स्थानीय मिडियाहरूका अनुसार त्यहाँ म्यानचेस्टर सिटीका स्टार फुटबलर रहीम स्टर्लिङ र बायर लिभरकुसेनका लियोन बेलेको समेत सहभागिता रहेको थियो ।

बोल्टले सन् २०१७ मा नै खेल जीवनबाट सन्यास लिएका थिए । उनले ट्रयाक एन फिल्डबाट सन्यास लिएका थिए ।

शताब्दीकै उत्कृष्ट धावक मानिने बोल्टले आफ्नो खेल करिअरमध्ये ओलम्पिक खेलकुदमा मात्र ८ स्वर्ण पदक जितेका छन् । उनको नाममा १०० मिटरमा विश्व कीर्तिमान रहेको छ ।

Loading...