Rumpum

Rumpum Advertisement

इलाममा चार करोडको लगानीमा एपोलो ट्रमा सेन्टर सुरु

इलाममा  चार करोडको लगानीमा  एपोलो ट्रमा सेन्टर सुरु

इलाम, ९ भदौ । लामो समयको प्रतीक्षापछि इलाममा एपोलो ट्रमा सेन्टर सञ्चालनमा आएको छ ।

इलाम नगरपालिका–६ स्थित पुरानो मेघबहादुर सामुदायिक अस्पताल भएको स्थानमा सो ट्रमा सेन्टर सञ्चालनमा आएको हो । करिब चार करोडको लगानीमा सञ्चालन आएको सो सेन्टरमा चारजना विशेषज्ञ चिकित्सकसहित ३३ जना चिकित्सक र कर्मचारी कार्यरत छन् ।

अत्याधुनिक सेवा सुविधासहित सञ्चालित सो सेन्टरको आज सञ्चालक डा. सञ्जय साहले एक कार्यक्रमका बीच शुभारम्भ गरे । निजी क्षेत्रबाट सुुरु भएको सो सेन्टरमा हार्डजोर्नी, स्त्री तथा प्रसूति रोग, रेडियोलोजी एवम् फिजिसियनको सेवा सञ्चालनमा आएको छ । छिट्टै नै सघन उपचार कक्ष (आईसीयू) सहितको सेवा सञ्चालन गरिने बताइएको छ ।

एकमात्र सरकारी अस्पताल भएको इलाममा निजी क्षेत्रबाट अत्याधुनिक सेवा सुविधासहित अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी हर्षित भएका छन् । अस्पताल सञ्चालनमा आएपछि सामान्य ज्वरो आउँदासमेत थप उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अब अन्त्य भएको स्थानीयवासीको भनाइ छ ।

सामान्य उपचारका लागि पनि जिल्लावासीलाई झापा, मोरङ र सुनसरीलगायत जिल्लामा जानुपर्ने समस्याको अन्त्यका लागि यो सेन्टर सञ्चालनमा ल्याइएको अर्का सञ्चालक प्रकाश चापागाईले बताए । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर ताप्लेजुङ र तेह्रथुमवासीलाई लक्षित गरेर अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए ।