Rumpum

Rumpum Advertisement

आर्थिक अभाव झेलिरहेका पत्रकारका लागि ‘फुड बैंक’ अभियान

आर्थिक अभाव झेलिरहेका पत्रकारका लागि ‘फुड बैंक’ अभियान

इटहरी, ९ भदौ । कोरोना महामारीका कारण आर्थिक अभाव झेलिरहेका श्रमजीवी पत्रकारका लागि नेपाल प्रेस युनियन सुनसरीले ‘फुड बैंक’ अभियान थाल्ने भएको छ ।

नेपाल प्रेस युनियन जिल्ला शाखाको बैठकले कोरोना महामारीको बेला विभिन्न सञ्चारमाध्यमहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलब–भत्ता कटौती गर्ने, नियमित पारिश्रमिक नदिनेसँगै कतिपय सञ्चारगृह बन्द भएका र केही आंशिकरुपमा सञ्चालन भएकाले समस्यामा परेकालाई मध्यनजर राखेर ‘फुड बैंक’ अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो ।

‘महामारीले गर्दा पत्रकारले सबैभन्दा बढी समस्या झेल्नु परेकाले पेशा जोगाउनै गाह्रो छ, अर्कातिर आर्थिक समस्या उत्तिकै छ,’ प्रेस युनियन जिल्ला अध्यक्ष पवन अधिकारीले भने, ‘पत्रकारकै मात्र कमाइबाट धानिएको धेरैको परिवारलाईं समस्या भएपछि थोरै भए पनि राहत होस् भनेर हामीले फुड बैंक सुरु गरिएको हो ।’ उनका अनुसार सक्ने पत्रकार, ठूला सञ्चारगृह र पत्रकारिताको हकहितमा कार्यरत संस्थाबाट उपलब्ध भएको सामग्रीहरु नहुनेलाई निःशुल्क प्रदान गरिनेछ ।

फुड बैंक अभियान सञ्चालन एवम् व्यवस्थापन गर्नका लागि जिल्लाका अग्रज पत्रकार एवम् प्रेस युनियनका पूर्वअध्यक्ष कृष्ण अधिकारीको नेतृत्वमा पाँच सदस्यीय समिति तयार गरिएको छ । ‘पत्रकारको आयको बाटो अवरुद्ध भएको छ तर पनि समाचार प्राप्त गर्ने र सम्प्रेषण गर्ने काम निरन्तर र अनिवार्य छ । अग्रभागमा रहेर काम गर्ने पत्रकारको अवस्था अत्यन्तै जोखिम पूर्ण छ,’ अधिकारीले भने, ‘समस्यामा परेका पत्रकारलाई फुड बैंकमार्फत् पत्रकारका लागि खाद्य सामग्री प्रदान गरिनेछ ।’ पत्रकार निशान चौधरी, उषाकिरण घिमिरे, इकवल अहमद र विनय प्रधान सदस्य रहेको समितिलेसुनसरीका पत्रकारहरुलाई सहयोग पु¥याउनेछ ।