Rumpum

Rumpum Advertisement

बार्सिलोना छोडेर युभेन्टस जाँदै गर्दा भावुक बने अर्थर

बार्सिलोना छोडेर युभेन्टस जाँदै गर्दा भावुक बने अर्थर

एजेन्सी, ९ भदौ । ब्राजिलियन स्टार अर्थर मेलो बार्सिलोना छोडेर युभेन्टस जाँदै गर्दा भावुक बनेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो पोस्ट गर्दै २४ वर्षीय अर्थरले भावनात्मक सन्देश छोडेका छन् ।

दुई वर्ष अगाडि बार्सिलोना आएका मिडफिल्डर अर्थर ७२ मिलियन युरोमा सिरी ‘ए’ च्याम्पियन क्लब युभेन्टस जाने पक्का भइसकेको छ । बार्सिलोनाले जुन महिनाको अन्त्यतिरै अर्थरलाई युभेन्टसमा बेचेको थियो । आफूभन्दा ६ वर्ष जेठा मिरालेम पियानिकसँग सट्टापट्टा भएका अर्थरले भने बार्सिलोना छोड्ने मनसाय देखाएका थिएनन् ।

ला लिगाको समाप्तिपछि बिदा मनाउन स्वदेश फर्किएका उनले क्याप नोउ नफर्किने र बार्सिलोनाबाट पुनः नखेल्ने अडान लिएका थिए । तर, क्याटलान क्लबले कानूनी लडाइँ लड्ने भनेपछि अर्थर दुई साताअघि मात्र च्याम्पियन्स लिगका लागि स्वदेशबाट ब्राजिल फर्किएका थिए ।

इच्छाविपरीत आफूलाई क्लब छोड्न बाध्य पारेको भन्दै उनले बार्सिलोनाबाट फेरि नखेल्ने बताएका थिए । तर, बार्सिलोनाले उनको व्यवहार अनुशासनहीन भएको भन्दै उनीविरुद्ध कानूनी लडाइँ लड्ने जनाएको थियो ।

त्यसपछि उनी बार्सिलोना फर्किन बाध्य भएका थिए । तथापि, बार्सिलोना फर्किए पनि उनी टोलीमा परेनन् । बार्सिलोनाले नापोली र बायर्न म्युनिख दुवै क्लबविरुद्ध उनलाई टोलीमा राखेन । उनले गत जुनयता नै बार्सिलोनाबाट खेलेका थिएनन् ।

९ जुलाई २०१८ मा ब्राजिलियन क्लब ग्रेमियोबाट बार्सिलोना आएका अर्थरले त्यहाँबाट ७२ खेल खेलेका थिए । २०१९–२० मा भने उनले २८ खेल खेलेका थिए ।

‘बिदाई हुनु त्यति सहज हुँदैन । अझ आफ्नो घर छोड्न त्यति सजिलो छैन’, भिडियोमा उनले भनेका छन्, ‘क्याटलान अविश्वनीय शहर छ, जो मेरो मनमा सधैं रहनेछ । जहाँ मैले नयाँ संस्कृति देखेँ र विशेषगरी एक खेलाडीका रूपमा मैले धेरै नै सुधार गरेँ ।’

‘मैले एक प्रतिभाशाली खेलाडीको समूह छोड्दैछु । म भाग्यमानी छु कि उनीहरूसँग मैले एक साथ खेल्न पाएँ । सबैको साथ र सहयोगका लागि म हृदयदेखि नै आभारी छु । मैले पहिलो दिनदेखि नै दर्शकको मन जितेको थिएँ । यसैले मलाई गर्व महशूस हुन्छ र विश्वकै महान जर्सी लगाउन पाएकोमा ज्यादै खुशी छु ।’

‘आजको दिन अलबिदा भन्ने दिन हो । तर, म सबै कुरा मनमा बोकेर बिदा हुँदैछु,’ उनले लेखेका छन् ।

View this post on Instagram

Gràcies per tot, Barcelona.

A post shared by Arthur Melo (@arthurhmelo) on