सरकारको उद्दार अनि हाम्रो समाज

सकिन्छ भने खुला मनले सहयोग गरौं सकिँदैन भने कसैलाई अमानवीय व्यवहार नगरौं ।

ईन्द्रमणि निरौला

अंग्रेजी वर्ष २०२० को सुरुवाती चरणसँगै कोरोना कहर विश्वका करिब दुई सय १५ देशमा फैलिसकेको छ । यसले सम्पूर्ण विश्वलाई चुनौती थप्दै गइरहेको परिप्रेक्षमा यस रोगसँग जुध्न र यसलाई निवारण गर्नका निम्ति विश्वका सम्पूर्ण राष्ट्रहरु लागिपरिरहेका छन् । यसले विश्वलाई मानसिक तथा आर्थिकरुपमा दिन प्रतिदिन नराम्रो असर पारिरहेको छ ।

कोरोना कहर विश्वका अन्य मुलुकजस्तै नेपालमा फैलिएको पनि सात महिना पुगिसकेको छ । यसलाई न्यूनीकरण गर्नका निम्ति कैयौँ कार्यहरु गरेको देखिन्छ । कहिले लकडाउन, कहिले सटडाउन त कहिले निषेधाज्ञा । यी सम्पूर्ण कार्य गर्नका निम्ति केन्द्रदेखि स्थानीय तहसम्म लागिपरिरहेका छन् । तर पनि हाम्रो देशमा एकल संख्यामा हुने संक्रमण दर अहिले समुदायस्तरमा फैलिएसँगै प्रत्येक वडामा दोहोरो, तेहोरो संख्यामा पुगिसकेको छ ।

सरकारले लकडाउन, सटडाउन वा निषेधाज्ञा गर्नुको उद्देश्य भनेको सम्पूर्ण नागरिकहरु जहाँ छौं, त्यहीँ बसौँ, सरकारले तीव्ररुपमा गरिरहेको परीक्षण तथा संक्रमितको कन्ट्रयाक ट्रेसिङमा सहयोग पु¥याउँ, त्यसका निम्ति आवश्यक पर्ने स्वास्थ्य सेवा तथा राहत उपलब्ध गराउनेछ, साथै विभिन्न क्वारेन्टाइन, आइसोलेसन तथा भेन्टिलेटरको संख्या आवश्यक मात्रामा थप्नेछ साथै हरेक मेडिकल टिमलाई तयारी अवस्थामा राखी यस महामारी सम्पूर्ण राष्ट्र एक भई लड्नेछ ।

तर विडम्बना हाम्रो देशमा नेतृत्वतहलाई कुर्सीमा कसलाई राख्ने, कसलाई हटाउने, स्वास्थ सामग्री खरिद गर्दा कसरी कति कमिसन खाने अनि क्वारेन्टाइनको व्यवस्थापनको नाममा कति भ्रष्टाचार गर्ने भन्ने कुराले प्राथमिकता पाइरहेको छ । यसले सत्तामा बस्ने र राजनीतिक पहुँच भएकालाई असाध्यै फाइदा पु¥याएको छ भने ती गरिब जनातालाई दिनुसम्मको दुःख दिएको छ ।

यही रोगको कारण नेपालमा मात्र हैन विभिन्न देशमा काम गर्न गएका मजदुरहरुको जागिर खोसिएको छ, अरुको देशमा भोकभोकै बस्नुपर्ने अवस्था आएको छ । यही अवस्थालाई मध्यनजर गर्दै सरकारले एउटा नाम दिएको छ ‘उद्दार’ । के वास्तबमै सरकारले विदेशमा अलपत्र परेका मानिसलाई उद्दार गरिरहेको छ त ?

विगत चार–पाँच महिनादेखि जागिर गुमाएका, अरुले दिइएको भरमा खान बाध्य अवस्थाका नागरिकलाई साविकको भन्दा तीन–चार गुणा बढी भाडा आफैंलाई व्यहोर्न लगाएर अनि नेपाल ल्याइसकेपछि पनि विभिन्न होटलहरुमा दैनिक महँगो आफ्नै शुल्कमा बस्नुपर्ने बाध्यता भएपछि सरकारले वास्तविक गरिबलाई उद्दार गरेकोभन्दा पनि व्यापार गरेको प्रष्ट देखिन्छ । तसर्थ यसलाई उद्दारभन्दा पनि व्यापारिक तरिकाले असहज परिस्थितिमा नेपाल ल्याउन सहयोग मात्र गरेको हो भन्दा ठिक होला ।

त्यस्तै हाम्रो समाजले यो महामारीको अवास्थामा कस्तो शिक्षा नीति पछ्याइरहेको छ कुन्नि ? समाजमा पढेलेखेका, केही कुरा बुझेका अनि समाजका विद्वान भनिएका व्यक्तिहरुले नै कोरोना संक्रमित भएका व्यक्तिहरुलाई अमानवीय व्यवहार गरिरहेका छन् । संक्रमितको घरमा पोस्टर टाँस्ने, उनीहरुलाई त्यहाँ बस्न नदिने, बाहिरबाट ताल्चा लगाइदिने अमानवीय कार्य गरिरहेको देख्दा हाम्रो समाजले कस्तो शिक्षा दिइरहेको छ साथै हामी कस्तो मानसिकतामा गुज्रिरहेका छौं भन्ने प्रश्न सधैं मनमा आउँछ । यस्ता अमानवीय कार्यले नै गर्दा मानिसहरु खुलेर आउन सक्दैनन् साथै परीक्षण गर्नसम्म नगई संक्रमणको दर बढाइरहेका छन् ।

तसर्थ यो समयमा सबैले आआफ्नो स्थानबाट आफूले सक्ने सहयोग गर्नु पर्दछ । यही अनुरुपमा संक्रमण बढ्दै जाने हो भने भोलि संक्रमित तपाईकै घरका सदस्य पनि हुने छन् । त्यसैले सम्पूर्णलाई मानवीय व्यवहार गरौं, सकेको सहयोग गरौं । सकिन्छ भने खुला मनले सहयोग गरौं सकिँदैन भने कसैलाई अमानवीय व्यवहार नगरौं ।

Loading...