Rumpum

Rumpum Advertisement

निषेधाज्ञामा निःशुल्क खाना बाँड्ने अभियन्तालाई प्रहरीको साथ

निषेधाज्ञामा निःशुल्क खाना बाँड्ने अभियन्तालाई प्रहरीको साथ

विराटनगर, ९ भदौं । कोरोना महामारी नियन्त्रणका लागि आह्वान गरिएको निषेधाज्ञाका कारण भोकभोकै परेकाहरुलाई विराटनगरका युवाहरुले निुःशल्क खाना वितरण गरिरहेका छन् ।

शनिबारयता चोकचोकमा पुगेर खाना वितरण गरिरहेका वसिम आलमसहित युवा अभियान्ताहरुलाई प्रहरीले सहयोग गरिरहेको छ ।

मंगलबार निःशुल्क खाना वितरण अभियान सञ्चालन गरिरहेका युवाहरुलाई हौसला बढाउन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष खड्का पुगेका थिए । खाना वितरण गर्ने अभियान्ताहरुसँगै सडकमा पुगेका उनले युवाहरुले राम्रो अभियान सञ्चालन गरेको बताए ।

‘निषेधाज्ञामा खाना वितरण गर्दा प्रहरीले सहयोग गरिरहेको छ,’ निःशुल्क खाना वितरण अभियानका संयोजक वसिम आलमले भने, ‘आज हाम्रो अभियानमा मोरङ प्रहरी प्रमुख सहभागी हुनु भयो ।’

अभियान्ताले लकडाउनको समयमा सडकमै बसोबास गर्ने र निम्न वर्गीय मजदुरलाई ८० दिनसम्म निरन्तर खाना वितरण गरेका थिए ।

लकडाउन खुलेसँगै रोकिएको अभियान विराटनगरमा निषेधाज्ञा जारी भएपछि पुनः सुरु गरेको आलमले बताए ।

विराटनगर ट्राफिक चोकमा रहेको रोयल बिर्यानी हाउसमा खाना पकाएर दैनिक दुई सयभन्दा बढीलाई वितरण गरिरहेको उनले बताए । अभियानलाई विराटनगरका मनकारीहरुले सहयोग गरिरहेका छन् । खाना वितरण अभियानलाई निषेधाज्ञा अवधिभर निरन्तरता दिने आलमले बताए ।