पुटिनका आलोचकलाई विष खुवाइएको खुलासा

विराटनगर, ९ भदौ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचन एवं रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई विष खुवाएको खुलासा भएको छ ।

उपचारमा संलग्न चिकित्सकले उनलाई विषाक्त पदार्थ खुवाएको बताएका हुन् । उनको उपचार गरिरहेको जर्मनीको बर्लिनस्थित च्यारिते अस्पतालले उनलाई विषाक्त पदार्थ खुवाइएको पुष्टि गरेको छ ।

रुसमा भने उनको उपचारमा संलग्न डाक्टरहरुले विषाक्त पदार्थ नदेखिएको बताएका थिए। रुसको आन्तरिक उडानमा रहेका बेला नाभाल्नी गएको बिहीबार बिरामी परेका थिए। उनी बिरामी परेपछि विमानले ओम्स्कमा आपतकालीन अवतरण गरेको थियो। लगत्तै कोमामा गएका उनको सुरुमा रुसमै उपचार भएको थियो। तर ज्यानको जोखिम रहेको भन्दै उनलाई थप उपचारका लागि जर्मनी लगिएको हो।

त्यसअघि नाभाल्नीको साइबेरियन शहर ओम्स्कमा उपचार भएको थियो।
नाभाल्नीका समर्थकहरुले उनले विमानस्थलको क्याफेमा खाएको चियामा विषाक्त पदार्थ मिलाइएको र सत्ताले आफ्नो अपराध ढाकछोप गर्न चाहेको आरोप लगाउँदै आएका छन्।

उनी रुसका भ्रष्टाचार विरोधी अभियन्ता हुन् । ४४ वर्षका नाभाल्नी रुसी सत्ताको कट्टा आलोचक हुन् । गएको जुनमा राष्ट्रपति पुटिनले आफूलाई थप दुई कार्यकाल सत्तामा टिक्नका लागि मार्ग प्रशस्त गर्ने गरी संवैधानिक परिवर्तन गरेका थिए । सो बेला नाभाल्नीले त्यसलाई संविधानको उल्लंघन र कू का रुपमा परिभाषित गरेपछि उनी चर्चामा आएका हुन् ।

Loading...