मेस्सी र रोनाल्डोबिनाको च्याम्पियन्स लिगको ‘टिम अफ दि सिजन’

एजेन्सी, ९ भदौ । युरोपियन च्याम्पियन्स लिग अफ दि सिजन सार्वजनिक भएको छ । यूईएफएले स्टार खेलाडीद्वय लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोविनाको ड्रिम टिमको घोषणा गरेको हो ।

मेस्सीको टोली क्वार्टरफाइनलबाट तथा रोनाल्डोको टोली अन्तिम १६ बाट नै आउट भएको च्याम्पियन्स लिगको उपाधि जर्मन क्लब बायर्न म्युनिखले जितेको थियो ।

पोर्चुगलको राजधानी लिस्बोनमा आइतबार राति भएको खेलमा बायर्नले फ्रेन्च क्लब पीएसजीलाई १-० गोलले हराउँदै उपाधि जितेको हो ।

रोनाल्डो र मेस्सीबाहेक च्याम्पियन्स लिगको उत्कृष्ट टिममा पीएसजीका स्टारद्वय नेयमार र किलियन एम्बाप्पे पनि छैनन् ।

यूईएफएले उपाधि विजेता बायर्नका चार तथा पीएसजीका चार जना खेलाडीलाई समेट्दै टिम अफ दि सिजनको घोषणा गरेको हो । जसमा, गोलकिपरमा बायर्नका म्यानुअल नुयर रहेका छन् ।

यस्तै बायर्नका जोसुवा किम्मिच, पीएसजीका मार्किन्होस, प्रिसनेल किम्पेम्बे र जुआन बर्नाट रहेका छन् ।

मिडफिल्डरमा बायर्नका सर्जी ग्नाब्री, पीएसजीका एन्जल डी मारिया, आरबी लेइपिजका मार्सेल सबिट्जर र म्यानचेस्टर सिटीका रहीम स्टर्लिङ रहेका छन् ।

फरवार्डतर्फ भने बोरुसिया डर्टमुण्डका इयर्लिङ ब्राउल्ट हालाण्ड र बायर्नका रोबर्ट लेवान्डोस्की छन् ।

Loading...