Rumpum

Rumpum Advertisement

अभिषेकको कोरोना रिपोर्ट ‘नेगेटिभ’

अभिषेकको कोरोना रिपोर्ट ‘नेगेटिभ’

विराटनगर, ८ भदौ । भारतको दोस्रो डिभिजन लिग खेल्न कोलकत्ता पुगेका नेपाली राष्ट्रिय टोलीका फुटबलर अभिषेक रिजालको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ ।

राष्ट्रिय फुटबल टिमका युवा स्ट्राइकर अभिषेकको कोलकत्ता पुगेपछि गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।

कोलकत्ता पुगेपछि शनिबार अभिषेकको स्वाब लिइएको थियो । उक्त स्वाबको रिपोर्ट नगेटिभ आएको अभिषेकले जानकारी गराए ।

उनी गत बुधबार भारत गएका थिए । स्थलमार्ग हुँदै भारत गएका अभिषेक कोलकत्ताबाट प्लेनमा गएका थिए ।

अभिषेकले गत बुधबार मोहम्मेदन स्पोर्टिङ क्लबसँग तीन वर्षको सम्झौता गरेका थिए । सम्झौता रकम भने खुलाइएको छैन । सम्झौताअनुसार क्लब शीर्ष डिभिजनमा उक्लिएको खण्डमा उनले सोही क्लबमा तीन वर्ष बिताउने छन् ।

क्लबको बढुवा नभएको खण्डमा भने क्लबले आवश्यकताअनुसार उनलाई रिलिज गर्ने बताइएको छ ।

भारतीय फुटबल फेडेरेसनले कोरोनाको महामारीकाबीच रोकिएको लिग पुनः सुचारु गर्ने तयारी गरेको छ । मिति भने तय भैसकेको छैन । यद्यपि, मोहम्मेदनले मंगलबारबाट अभ्यास सुरु गर्नेछ ।

सन् १८९१ मा स्थापित क्लब पहिलो पटक शीर्ष डिभिजनमा बढुवा हुने योजनामा रहेको छ । सोही अनुसार उसले ठुलो लगानी गरेको छ ।

कोरोनाको कारण लिग स्थगित हुनु अघि मोहम्मेदनले ६ खेलबाट १२ अंक जोडेको छ । २ खेलमा पराजित मोहम्मेदन शीर्ष स्थानमा रहेको छ ।