सेप्टेम्बरको चौथो साता बायर्न र सेभिल्लाले सुपर कपको उपाधिका लागि खेल्ने

एजेन्सी, ८ भदौ । यूईएफए सुपर कपको उपाधि भिडन्त सेप्टेम्बर चौथो साताको लागि तय भएको छ । च्याम्पियन्स लिग र युरोपा लिगको विजेता टोलीले खेल्ने सुपर कपको फाइनल खेल २४ सेप्टेम्बरका लागि तय भएको हो ।

४५औं संस्करणको सुपरकपको लागि च्याम्पियन्स लिग विजेताका रूपमा बायर्न म्युनिख र युरोपा लिग विजेताका रूपमा सेभिल्लाले खेल्नेछन् ।

जर्मन क्लब बायर्नले आइतबार राति पीएसजीलाई १–० गोलले हराउँदै युरोपियन च्याम्पियन बनेको हो । यता, स्पेनिस क्लब सेभिल्लाले इन्टर मिलानलाई ३-२ गोलले हराएर युरोपा लिगको उपाधि जितेको हो ।

अब बायर्न र सेभिल्लाले सुपर कपको उपाधिका लागि २४ सेप्टेम्बर राति १२ः४५ बजे हंगेरीस्थित पुस्कार एरिनामा खेल्नेछन् । यस खेलमा दुवै टोली दोस्रो पटक सुपर कपको उपाधि जित्ने दाउमा हुनेछन् ।

यसअघि सेभिल्लाले २००६ मा उपाधि जितेको थियो भने बायर्नले २०१३ मा सुपरकपको उपाधि जितेको थियो । त्यसबाहेक सेभिल्ला पाँचौं पटक फाइनलमा पुगेको छ भने बायर्न चौथो पटक फाइनलमा पुगेको छ ।

Loading...