‘विदेशमा पीसीआर परीक्षण गर्दा नेगेटिभ आउनेहरूले होटल क्वारेन्टाइनमा बस्नु पर्दैन’

काठमाडौं, ८ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरूले होटल क्वारेन्टाइनमा बस्नुनपर्ने स्पष्ट पारेका छन् ।

विदेशबाट आउने नागरिकहरूले होटल क्वारेन्टाइनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरू सिधै घर जान पाउने स्पष्ट पारेका हुन् ।

सरकारले विभिन्न देशमा अलपत्र नागरिकहरूलाई उद्धार गरी होटल क्वारेन्टाइनमा ७ दिन राख्ने निर्णय गरेको थियो । कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरूले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरूले होटल क्वारेन्टाइनमा बस्नुनपर्ने उनले बताए ।

‘जहाँ पीसीआर परीक्षण सहज हुन्छ र कोरोना संक्रमणको दर पनि कम छ । त्यस्तो ठाउँबाट पीसीआर परीक्षण गरेका प्यासेन्जर बोकेर मात्र आउने । त्यसका लागि नियमित उडानहरू खोल्ने तयारी भएको छ भदौँ १६ (सेप्टेम्बर १) बाट । कुन कुन देशहरू भन्ने भोलि फाइनल सूची सार्वजनिक हुन्छ । (मलेसिया यूएई, दक्षिण कोरिया, जापान, हङकङलगायत हुन सक्छन्), उनले भने ।

‘पीसीआर गरेका यात्रुहरूले सरकारले वेवसाइटमा राखेको फर्म भर्नुपर्छ । नेपालको ठेगाना स्पष्ट लेख्नुपर्छ । र नेपाल आइसकेपछि एयरपोर्टबाट रिपोर्ट नेगेटिभ देखाउनु भयो भने १४ दिन आफ्नो घरमा होम क्वारेन्टाइनमा बस्ने प्रतिवद्धतासहित घर जान दिइन्छ, ’ उनले थपे ।

Loading...