Rumpum

Rumpum Advertisement

विश्वको तुलनामा नेपालमा कोरोनाबाट निको हुने दर १० प्रतिशतले कम

विश्वको तुलनामा नेपालमा कोरोनाबाट निको हुने दर १० प्रतिशतले कम

काठमाडाैं, ८ भदाै । नेपाल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ ।

विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करिब १० प्रतिशतले कम रहेको छ ।

अहिले नेपालमा निको हुने दर ५८.३ प्रतिशत रहेको छ भने विश्वमा ६८.१ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर ९.८ प्रतिशतले कम रहेको छ ।

तथ्यांक भन्दाबढी नै निको भएको सरकारी अधिकारी बताउँछन् ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले तथ्यांकअनुसार नेपालमा विश्वको तुलनामा सङ्क्रमण हुने दर कम भए पनि वास्तविक त्यसो नभएको बताए ।

उनले पछिल्लो समय रिपोर्टिङ गर्ने कम भइरहेकाले निको हुने दर तथ्यांकमा कम देखिएको बताए ।

उनले भने, “हामीले सबै ठाउँबाट तथ्यांक सङ्कलन गर्न सकेका छैनौं । सङ्क्रमित दैनिक निको हुनेको संख्या बढी भए पनि संकलनमा समस्या भएकाले निको हुनेको कम तथ्यांक आएको हो ।” उनले सबै ठाउँबाट तथ्यांक आइसकेपछि निको हुने दर बढी देखिने बताए ।

विश्वमा अहिले दुई करोड ३४ लाख ९०० जना सङ्क्रमित भएका छन् भने एक करोड ५९ लाख ३५ हजार ४७३ जना निको भएर घर फर्किसकेका छन् ।

जुन निको हुनेको संख्या ६८.१ प्रतिशत हो । विश्वमा अहिलेसम्म आठ लाख नौ हजार ९८६ जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भइसकेको छ । जुन मृत्युदर ३.५ प्रतिशत हो ।

नेपालमा ६ लाख ४४४ जनामा पीसीआर परीक्षण गर्दा ३१ हजार ९३५ जनामा सङ्क्रमण देखिएको छ । सोमध्ये १८ हजार ६३१ जना सङ्क्रमणमुक्त भइ घर फर्किसकेका छन् । जुन ५८.३ प्रतिशत हो ।

नेपालमा अहिलेसम्म १४९ जनाको सङ्क्रमणबाट ज्यान गइसकेको छ । ११ हजार ४१४ जना क्वारेन्टिन र १३ हजार १५५ जना आइसोलेसनमा रहेका छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले सवै तथ्यांक सङ्कलन गर्न नसकेकाले निको हुने दरको सङ्ख्यामा कमि देखिएको बताए ।

“हामीले सवै सङ्क्रमितलाई अस्पतालमा भर्ना गरेका छैनौँ, कति होम आइसोलेशनमा पनि बसेर निको भएका छन्, कतिको निको भएपछि पनि पिसिआर परीक्षण भएको छैनन् । सबैको तथ्यांक हामीसँग आउदैन, त्यसैले तथ्यांकमा निको हुनेको संख्या कमि देखिएको हो, धेरै नै निको भएका छन्, तर वास्तविक त्यस्तो होइन,” उनले भने ।

उनका अनुसार करिव ८० देखि ९० प्रतिशत सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । रासस