Rumpum

Rumpum Advertisement

संक्रमित विपन्न परिवारलाई प्रदेश सांसदको सहयोग

संक्रमित विपन्न परिवारलाई प्रदेश सांसदको सहयोग

विराटनगर, ८ भदौ । होम आइसोलेशनमा बसेका विराटनगर महानगरका विपन्न र अशक्त कोरोना संक्रमितहरूलाई प्रदेश १ सांसद विन्दिया कार्कीले पौष्टिक आहार र सुरक्षा सामग्री सहयोग गरेकी छन् ।

आफ्नो जन्मदिनको अवसरमा सोमबार प्रदेश सांसद कार्कीले विराटनगरमा होम आइसोलेसनमा बसिरहेका विपन्न १५ घर परिवारलाई चामल, अण्डा, च्यवनप्रास, हर्लिक्स, भिटामिन र सेनिटाइज मास्क आदि सामग्री सहयोग गरेकी हुन् ।

विराटनगरमा होम आइसोलेशनमा बसेका संक्रमित परिवारलाई पौष्टिक आहारको अभाव भएको जानकारी पाएपछि आफूले प्रतिघर दुई हजार बराबरको खाद्यान्न, सुरक्षा सामग्री र पौष्टिक आहार सहयोग गरेको सांसद कार्कीले बताइन् ।

सांसद कार्कीले प्रदान गरेको सामाग्रीहरू संक्रमितहरूलाई सहयोग गर्न सक्रिय रूपले लागिरहेका विराटनगरका युवा समूहले घर–घरमा लगेर वितरण गरेका छन् ।

काँग्रेसबाट समानुपातिकमा निर्वाचित सांसद कार्कीले लकडाउनको समयमा कोशी अस्पतालका बिरामी कुरुवाहरूलाई निःशुल्क खाना पनि खुवाएकी थिइन् ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाका अनुसार हालसम्म विराटनगरका ३ सय २५ जना संक्रमित होम आइसोलेसनमा बसेका छन् ।

धेरै संक्रमितहरू आर्थिक रूपमा विपन्न रहेको र एकै परिवारका सबै सदस्य संक्रमित हुँदा खाना र पौष्टिक आहारको समस्यामा भइरहेको गुनासो बढ्न थालेपछि मनकारी युवाहरूले उनीहरूको विवरण संकलन गरेर दाताहरू खोजेर सहयोग गर्न थालेका छन् ।