नेयमारले गलत टिमलाई ‘च्याम्पियन्स लिगको विजेता’ भन्दै बधाई दिएपछि…

एजेन्सी, ८ भदौ । ब्राजिलियन स्टार नेमयमारले च्याम्पियन्स लिगको विजेता भन्दै सामाजिक सञ्जालमा गलत टोलीलाई बधाई दिएका छन् ।

सोमबार बिहान फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्ट्राइकर नेयमारले ट्वीटरमार्फत् च्याम्पियन्स लिगको विजेता भन्दै गलत टोलीलाई बधाई दिएका हुन् ।

नेयमारको टोली पीएसजीलाई हराउँदै जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिगको उपाधि जितेको थियो । आइतबार राति पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा पीएसजीलाई १–० गोलले हराउँदै बायर्नले छैटौं पटक उपाधि जितेको हो ।

लिस्बोनमा नेयमारको समय राम्रो रहेन । खेलको १९औं मिनेटमा एम्बाप्पेको पासमा नेयमारले गरेको प्रहार बायर्नका गोलरक्षक म्यानुयल नुयरले उत्कृष्ट तरिकाले बचाएका थिए ।

खेलमा दुवै टोलीका गोलरक्षकले उत्कृष्ट प्रदर्शन गरेपनि ५९औं मिनेटमा किंग्स्ले कोमानले पीएसजीका गोलरक्षक केयलर नाभासलाई कमजोर तुल्याउँदै गोल गरे र बायर्नलाई २०२० को च्याम्पियन्स लिगको उपाधि जिताए ।

पहिलोपल्ट फाइनल पुगेको पीएसजीलाई च्याम्पियन्स लिगको उपाधि जिताउन नेयमार असफल रहे । सन् २०१७ मा कीर्तिमानी रकममा बार्सिलोनाबाट पीएसजी आएका नेयमारले च्याम्पियन्स लिग जित्ने मौका गुमाए ।

बायर्नले उपाधि सेलिब्रेसन गरिरहँदा नेयमार भने भावुक बनेका थिए । पीएसजीको बेन्चमा बसेर उनी पीएसजीका प्रशिक्षक थोमस टुचेल र अध्यक्ष नासार अल–खिलाफीजस्तै भावुक बने ।

आज बिहान ट्वीट गर्दै नेयमारले जर्मनकै अर्को क्लब बायर लिभरकुसेनलाई बधाई दिएका थिए । उनले लेखेका छन्, ‘हार खेलको अर्को पाटो हो, हामीले हरसम्भव कोशिश गरेका थियौं । तपाईंको समर्थनका लागि धन्यवाद । बधाई छ बायर ।’

लगत्तै बायरले ट्वीटरमार्फतबाट नै प्रतिक्रिया जनाएको थियो । ‘नेयमार । हामीलाई थाहा छैन कि किन तपाईंले बधाई दिइरहनु भएको छ । हामी अहिले फिफा खेलकाे तयारीका लागि छुट्टीमा छौं । तथापि, धन्यवाद,’ बायरले लेखेको छ ।

https://twitter.com/bayer04_es/status/1297671703162544129?s=20
Loading...