मोरङमा युवाहरूको अभियान : ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर’

विराटनगर, ८ भदौं । मोरङको केराबारीमा युवाहरुले फुड बैंक अभियान सुरु गरेका छन् । लकडाउनले समस्या परेका परिवारहरुका लागि स्थानीय युवाले ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर’ भन्ने स्लाेगनसहित फुड बैंक सञ्चालन गरेका हुन ।

शनिबारबाट अभियान सुरु गरेको नेपाल तरुण दल केराबारीका सभापति पप्पु साहले बताए । ‘हिजो मास्क बैंक सञ्चालन गरेका थियौं ।’ उनले भने ‘ स्लोगन हुनेले दिएर जाऔं नहुनेले लिएर जाउ भन्ने थियो, शनिबारबाट फुट बैंक सुरु गरेका छौं ।’

शनिबार स्थानीय युवाले आफ्नै खर्चमा खाद्यान्य खरिद गरी बैंकमा राखेका थिए । त्यसपछि सहयोगी हातहरु आएको उनले बताए ।

‘सुरु दिन ६० जनाले सेवा लिनुभएको थियो, दोस्रो दिन ८० र आज (सोमबार) २५० जनाले खाद्यान्य लानु भयो ।’ उनले भने ‘ दैनिक उपभोग्य बस्तु वितरण गरिरहेका छौं ।’

आर्थिक अवस्था कमजोर भएका परिवारलाई न्यूनतम सहयोग गर्ने उदेश्य अनुसार बैंक सञ्चालन गरेको उनले बताए ।

प्रति परिवारले एक पटकमा एक पोका तेल, दुई केजी चामल, एक पाउ सोयाविन र १ पोका नुन वितरण गरिरहेका छन् । भिडभाड बढेका कारण अभियान सञ्चालन गर्न समस्या भएको उनले बताए ।

Loading...