च्याम्पियन्स लिग जित्ने मौका गुमाएपछि निराश नेयमार

एजेन्सी, ८ भदौ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्ट्राइकर नेयमारले गए राति च्याम्पियन्स लिग जित्ने मौका गुमाए । जर्मन क्लब बायर्न म्युनिखले पीएसजीलाई १–० गोलले हराउँदै च्याम्पियन्स लिगको उपाधि जित्यो ।

आइतबार राति पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा नेयमारको समय राम्रो रहेन ।

खेलको १९औं मिनेटमा एम्बाप्पेको पासमा नेयमारले गरेको प्रहार बायर्नका गोलरक्षक म्यानुयल नुयरले उत्कृष्ट तरिकाले बचाएका थिए ।

यस्तै खेलको ४४ औं मिनेटमा एम्बाप्पेको बल नुयरले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलमा दुवै टोलीका गोलरक्षकले उत्कृष्ट प्रदर्शन गरेपनि ५९औं मिनेटमा किंग्स्ले कोमानले पीएसजीका गोलरक्षक केयलर नाभासलाई कमजोर तुल्याउँदै गोल गरे र बायर्नलाई २०२० को च्याम्पियन्स लिगको उपाधि जिताए ।

पहिलोपल्ट फाइनल पुगेको पीएसजीलाई च्याम्पियन्स लिगको उपाधि जिताउनबाट नेयमार असफल रहे । सन् २०१७ मा कीर्तिमानी रकममा बार्सिलोनाबाट पेरिस आएका नेयमारले पीएसजीकाे उद्देश्य पूरा गर्न सकेनन् ।

पीएसजीले च्याम्पियन्स लिग जित्नकै लागि ब्राजिलियन स्टार नेयमारलाइ विश्वकै महँगाे खेलाडीका रूपमा किनेकाे थियो ।

बायर्नले उपाधि जितेर सेलिब्रेसिन गरिरहँदा नेयमार भने भावुक बनेका थिए । पीएसजीको बेन्चमा बसेर उनी पीएसजीका प्रशिक्षक थोमस टुचेल र अध्यक्ष नासार अल–खिलाफीजस्तै भावुक बने ।

Loading...