बार्सिलोना फर्किने तयारीमा कौटिन्हो

बार्सिलोना फर्किने तयारीमा कौटिन्हो

एजेन्सी, ८ भदौ । जर्मनीमा एक सिजनको बसाइपछि ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो बार्सिलोनता फर्किने तयारीमा छन् ।

लोनमा जर्मन क्लब बायर्न म्युनिख आएको एक वर्ष पूरा भएपछि बार्सिलोनाका स्टार कौटिन्हो स्पेन फर्किने भएका हुन् ।

अगस्ट २०१९ मा क्याप नोउबाट लोनमा जर्मन आएका कौटिन्होले बायर्नबाट बुन्डेसलिगा र च्याम्पियन्स लिगको उपाधि जिते ।

लिभरपुलका पूर्वखेलाडी कौटिन्होले अब भने बार्सिलोनाबाट स्थायी फुटबल खेल्ने सपना बुनेका छन् । तथापि, उनको भविष्य भने अन्यौलमै रहेको छ ।

‘मैले यो विषयमा सोचेको थिइँन । अब मलाई बार्सिलोना फर्किनु छ र म त्यहाँ धेरै मेहेनत गरेर महान वर्ष बनाउने योजनामा छु’, उनले मोभिस्टारसँगको कुराकानीमा भने, ‘मलाई थाहा छैन यदि त्यो बार्सिलोनामै हुन्छ या अन्त कतै ।’

‘पक्कै पनि मलाई बार्सिलोना फर्किनु छ र हेर्नुछ त्यहाँ के भइरहेको छ । मैले त्यहाँ फर्किने विषयमा सोचेको थिइँन । किनकि मेरो ध्यान च्याम्पियन्स लिगको फाइनलमा थियो’, उनले थपे ।

२८ वर्षीय कौटिन्होलाई ८.५० मिलियन युरो लोनमा बायर्नले भित्र्याएको थियो ।