Rumpum

Rumpum Advertisement

रिपोर्ट नगेटिभ आए पनि महानगरले ग¥यो शव व्यवस्थापन

रिपोर्ट नगेटिभ आए पनि महानगरले ग¥यो शव व्यवस्थापन

विराटनगर, ८ भदौ । कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएका एक बेवारिसे पुरुषको शव विराटनगर महानगरपालिकाले व्यवस्थापन गरेको छ ।

आफन्त र परिवारका सदस्य सम्पर्कमा नआउँदा र उनीहरुका बारेमा पत्ता लाग्न नसक्दा सोमबार बिहान कानुनी प्रक्रिया पूरा गर्दै शव व्यवस्थापन महानगरले गरेको हो ।

घर धनकुटा, नाम दीपक शेर्पा र उमेर ५० वर्ष बताउने पुरुषको गत शुक्रबार बिहान कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो ।

मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर उनका आफन्त र परिवारका सदस्य कोही पनि सम्पर्कमा नआएपछि अस्पतालले पोस्टमार्टम गर्दै शव व्यवस्थापनका लागि महानगरको जिम्मा लगाएको थियो ।

दाहसंस्कारका लागि जिम्मा लिन कोही आफन्त आउने आसमा शवलाई तीन दिनदेखि कोशी अस्पतालकै शवगृहमा राखिएको थियो । प्रहरीले खोजी गरे पनि उनका नाता सम्बन्धका कसैलाई फेला पार्न सकेन ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित सडकमा छटपटाइरहेका बेला उनलाई प्रहरीले उद्दार गरेर गत बिहीबार राति उपचारका लागि कोशी अस्पताल ल्याएको थियो ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दीलिप गिरीले पथरीशनिश्चरे क्षेत्रमा केही समयदेखि ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका पुरुष सडकमा छटपटाइरहेको देखेर उपचारका लागि पठाइएको बताए ।

कोशी अस्पतालले कोरोनाको आशंकामा पुरुषलाई आइसोलेसनमा भर्ना गरेर स्लाइन चढाउँदै उपचार सुरु गरेको थियो । तर शुक्रबार बिहान आइसोलेसनमै मृत्यु भएको अवस्थामा उनको शव भेटियो । अस्पतालले शव तीन दिनपछि व्यवस्थापन गर्न महानगरको जिम्मा लगाएको थियो ।