Rumpum

Rumpum Advertisement

मेस्सीलाई पीएसजीमा धेरै स्वागत छ : टुचेल

मेस्सीलाई पीएसजीमा धेरै स्वागत छ : टुचेल

एजेन्सी, ८ भदौ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक थोमस टुचेलले बार्सिलोनाका कप्तान मेस्सी भित्र्याउने तीव्र चाहना ब्यक्त गरेका छन् ।

पछिल्लो समय पेरिस क्लबसँग जोडिएका अर्जेन्टिनी स्टार मेस्सीको विषयमा बोल्दै टुचेलले ‘मिस्टर बार्सिलोना’लाई पीएसजीमा धेरै स्वागत छ भने ।

च्याम्पियन्स लिगअन्तर्गत बायर्न म्युनिखसँग ८–२ गोलले पराजित भएपछि मेस्सी यसै सिजनको अन्त्यमा बार्सिलोना छोड्ने चर्चामा छन् ।

यता, बायर्नसँग नै फाइनलमा १–० गोलले पराजित भएपछि टुचेल पनि च्याम्पियन्स लिगको उपाधि जित्न बञ्चित भएका थिए ।

यता, क्लबको पछिल्लो निराशाजनक नतिजाका कारण बार्सिलोना छोड्ने चर्चामा रहेका ३३ वर्षीय मेस्सीलाई भित्र्याउन पीएसजीले पनि इच्छा देखाएको छ ।

क्लबका प्रशिक्षक टुचेलले मेस्सीलाई क्लबमा स्वागत भन्दै यस कुराको संकेत गरेका छन् ।

‘मेस्सीलाई पीएसजीमा धेरै स्वागत छ ! हामीले यस सिजनको अन्त्यसँगै धेरै खेलाडी गुमाउँदैछौं । अहिले हामीबाट थियागो सिल्भा र इरिक माक्सिम चौपो–मोटिङ पनि बिदा हुँदैछन् । हामीलाई ठूलो टोली बनाउनका लागि उनको आवश्यकता छ’, टुचेलले बीटी स्पोर्ट्ससँग भने ।

‘हामीलाई मजबुत बन्न जरुरी छ, एउटा बलियो टोली बनाउन आवश्यक छ । ट्रान्सफरका बारेमा अहिले नै कुरा नगर्ने हामीले निर्णय गरेका छौं । हामी आगामी दिनमा एकसाथ बस्नेछौं र टोली मजबुत बनाउन कुरा गर्नेछौं,’ उनले थपे ।

‘मेरो विचारमा मेस्सीले उनको करिअर बार्सिलोनामै समाप्त गर्नेछन् । उनी मिस्टर बार्सिलोना हुन्,’ उनले भने ।