चितवनमा कोरोना संक्रमण रोक्न फितलो तयारी

चितवनमा कोरोना संक्रमण रोक्न फितलो तयारी

भरतपुर, ८ भदौ । चितवनमा कोभिड १९ का संक्रमितको संख्या बढेसँगै आईसीयू शय्या र भेन्टिलेटर अभाव हुने चिन्ता सुरु भएको छ ।

कोरोनोका गम्भीर बिरामीलाई उपचारका लागि सहज बनाउने महत्वपूर्ण मानिएका ती दुई महत्वपूर्ण उपकरण थप्नेतर्फ सम्बन्धित निकायको ध्यान अहिलेसम्म नजाँदा उपचारमा समस्या आउने जनाइएको छ ।

जिल्लामा सोमबारसम्म संक्रमितको संख्या ३६८ पुगेको छ भने कोरोना संक्रमबाट हालसम्म तीनजनाको अकालमा मृत्यु भएको छ । जिल्ला र बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आउनेसमेत गरी दैनिक ४० भन्दा बढी संक्रमित थपिने क्रम जारी रहेको छ ।

चिकित्सकीय सेवाको शहरका रुपमा परिचित जिल्लामा एक केन्द्रीय सरकारी अस्पताल, एक प्रादेशिक अस्पताल, दुई मेडिकल कलेज, एक क्यान्सर अस्पताल र दुई दर्जन बढी सानाठूला अस्पताल छन् । कोरोना समितको संख्या बढ्दो अवस्थामा रहे पनि तयारी भने फितलो छ ।

जिल्लाको सरकारी भरतपुर अस्पतालमा पर्याप्त आइसोलेसन नभएका कारण केही संक्रमित होम आइसोलेसनमा बसेका छन् । संक्रमित घरघरमै बस्न थालेपछि बल्ल पालिकाहरु धमाधम आइसोलेसन बनाउने तयारीमा जुटेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले गत वैशाख महिनासम्मको तथ्यांकअनुसार जिल्लाका अस्पतालमा २४३५ शय्या छन् । तीमध्ये १७६ आईसीयू र ४९ भेन्टिलेटर छन् । यो क्यान्सर अस्पतालबाहेकका अस्पतालको तथ्यांक भएको उनले बताए ।

भरतपुर अस्पतालमा ३० शय्याको आईसीयू छ । यसमा १० कोभिड र २० ननकोभिडका लागि छुट्याइएको छ । अस्पतालमा रहेका छ भेन्टिलेटरमध्ये दुईवटा कोभिडका लागि प्रयोग गरिएको छ । ‘सामान्य अवस्थामा यो पर्याप्त हो,’ अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले भने, ‘तर कोभिडका बिरामी बढ्दै जाँदा आईसियू र भेन्टिलेटरको अभाव हुने देखिन्छ ।’ यो अवधिमा कुनै पनि अस्पतालले आईसीयू र भेन्टिलेटर थप नगरेको उनले जानकारी दिए ।

‘संक्रमितको जीवनरक्षाका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरणहरु तयारी अवस्थामा राख्नुपर्छ, त्यसका लागि प्रदेश र संघीय सरकारसँग कुरा गरेका छौं,’ उनले भने । गम्भीर बिरामीको उपचारका लागि आईसीयू र भेन्टिलेटर आवश्यक पर्ने भएकाले लक्षण नभएका, सामान्य लक्षण भएका संक्रमित घरकै आइसोलेसनमा बस्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले अस्पतालमा रहेको भेन्टिलेटर र आईसीयू पर्याप्त नभएको बताए । उनले भने, ‘क्यान्सर अस्पतालमा १५ श्य्याको आईसीयू कक्ष छ, थप २० बढाउन सक्ने क्षमता हामीसँग छ ।’ उनले आवश्यक परेको खण्डमा त्यसका लागि पनि तयार रहेको जानकारी दिए ।

‘क्यान्सर अस्पतालमा अहिलेसम्म कोरोनाका संक्रमितको उपचार गरेका छैनौं,’ उनले भने, ‘स्वाब परीक्षणका लागि ल्याब सञ्चालनको तयारीमा छौं ।’ आवश्यक परेका खण्डमा भरतपुर अस्पतालमा कोरोना संक्रमित र क्यान्सर अस्पतालमा ननकोभिडको उपचार गर्न सकिने उनले बताए । ‘मान्छेको ज्यानभन्दा ठूलो कुरा केही होइन,’ उनले भने, ‘यो समयमा सबै कुराका लागि तयार हुनुपर्छ ।’

जिल्लामा सबैभन्दा धेरै भेन्टिलेटर चितवन मेडिकल कलेज (सीएमसी) मा छन् । सैँतीस भेन्टिलेटर आफूहरुसँग रहेको कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपाने जानकारी दिए । उनले भने, ‘थप ३० भेन्टिलेटर ल्याउने तयारीमा छौं ।’ अस्पतालमा रहेका भेन्टिलेटर खाली नरहेको जनाउँदै उनले कोभिडका बिरामीलाई उपलब्ध गराउन नसकिने जानकारी दिए ।

जिल्लाको अर्को कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा ५० श्य्याको आईसीयू कक्ष र १० भेन्टिलेटर छन् । यी दुवै मेडिकल कलेजले कोभिडका बिरामी राखेर उपचार गरेका छैनन् ।

नारायणी सामुदायिक अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले अस्पतालमा रहेका भेन्टिलेटर कोभिडका बिरामीका लागि प्रयोग गर्न सकिने अवस्था नरहेको जानकारी दिए । उनले भने, ‘अन्य नियमित बिरामीका लागि नै भेन्टिलेटर पर्याप्त छैन, कोभिडका लागि त झन् अभाव छ ।’

पछिल्लो दिनमा जिल्लामा संक्रमित बढ्दै गएका छन् भने संक्रमितमा लक्षण पनि देखिने गरेको छ । समुदायमा फैलिएको कोरोनाको प्रभाव वृद्ध, दीर्घरोगी, बालबालिका र सुत्केरीमा परेमा धेरै आईसीयू र भेन्टिलेटरको आवश्यक पर्ने विज्ञ बताउँछन् । रासस