केराबारीबाट दुई किलो गाँजासहित युवक पक्राउ

विराटनगर, ८ भदौ । दुई किलो गाँजासहित प्रहरीले मोरङको केराबारीबाट एक युवकलाई पक्राउ गरेको छ । केराबारी गाउँपालिका–६ बाट दुई किलो गाँजासहित प्रहरीले केराबारी–७ का २३ वर्षीय भरत राईलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी नायव निरीक्षक दीपक बराल नेतृत्वको टोलीले राईलाई पक्राउ गरेको हो । राईले धनकुटाबाट ग्रामीण क्षेत्र हुँदै गाँजा तराईतिर ‘सप्लाई’ गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

केराबारीकै खदम खोलाबाट बिहीबार एक किलोग्राम एक सय ग्राम गाँजासहित चारजना पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–८ का २१ वर्षीय सुमन कार्की, १८ वर्षीय सरोज विक, २० वर्षीय आशिष दास र भुवन मण्डल रहेका छन् । उनीहरुले पनि बिक्रीकै लागि गाँजाको ओसारपसार गरेको खुलेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले गाँजासहित पक्राउ परेकाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

Loading...