मोरङमा गोरु काट्ने तीनजना पक्राउ

मोरङमा गोरु काट्ने तीनजना पक्राउ

विराटनगर, ८ भदौ । प्रहरीले गोरु काटेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । मोरङको लेटाङ नगरपालिका–६ का ६३ वर्षीय जेबी भनिने जीतबहादुर राई, २३ वर्षीय जीवराज तामाङ र २१ वर्षीय ध्यानबहादुर राईलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक अशोककुमार जवेगुले गोरु काटेर मासु भाग लगाउँदै गरेको भेटेर उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले लगभग ४० किलो गोरुको मासु पनि बरामद गरेको छ । तीनैजनाविरुद्ध सोमबार पशुपक्षीसम्बन्धी कसुरमा मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।