विराटनगरको छुट्टै पीसीआर मेसिन : दाताबाट ६० लाखको आश्वासन, मेयरले दिए एक वर्षको सुविधा

विराटनगर, ८ भदौ । कोरोना जाँचका लागि विराटनगर महानगरपालिकाले पीसीआर मेसिन खरिद गरेको छ ।

शंकास्पद व्यक्तिको स्वाब संकलन गरेको चार दिनसम्म रिपोर्ट नआएपछि विराटनगर महानगरपालिकाले छुट्टै पीसीआर मेसिन खरिद गरेको हो ।

महानगरले खरिद गरेको मेसिन कोशी अस्पताल विराटनगरले सञ्चालन गर्नेछ । मेसिन सञ्चालनका लागि विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई २५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ ।

मेसिन अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन हुने विराटनगरका मेयर भीम पराजुलीले जानकारी दिए । ‘२५ लाख रुपैयाँ कोशी अस्पताललाई हस्तान्तरण गरिसकेका छौं,’ उनले भने, ‘मेसिन जडानपछि कोरोना जाँचको रिपोर्ट आउन धेरै समय लाग्दैन ।’

महानगरपालिकाले खरिद गरेको मेसिनको क्षमता एकै पटक ९६ जनाको पीसीआर गर्न सक्छ । मेसिनको बजार मूल्य २८ लाख पर्ने बताइएको छ ।

मेयरले दिए एक वर्षको सुविधा, उद्योगी राउतले दिए सात लाख

विराटनगर महानगरपालिकाललाई विराटनगरका व्यवसायीले मेसिन खरिद गरेर दिएका हुन । मेसिन खरिद र सञ्चालनका लागि निजी क्षेत्रले ६० लाख रुपैयाँ जुटाइदिने आश्वासन दिएको छ ।जसमा केही उद्योगपतिले रकम उपलब्ध गराइसकेका छन् ।

मेयर भीम पराजुलीका अनुसार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले सात लाख रुपैयाँ सहयोग गरेका छन् । मेयर पराजुलीले पनि एक वर्षको सुविधा मेसिन खरिदमा खर्च गरेका छन् । पराजुलीले यसअघि आफूले पाउने सुविधा सार्वजनिक काममा खर्च गर्दै आएका थिए ।

त्यस्तै उद्योगी तुलसीराम अग्रवालले पाँच लाख, गोल्छा हाउसले पाँच लाख, कांग्रेस नगर सभापति अरुण न्यौपानेले एक लाख, प्रदेशसभा सदस्य केदार कार्की एक लाख, उद्योगी पारस लुनिया एक लाख उपलब्ध गराएका छन् । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरले एक लाख उपलब्ध गराएका छन् ।

उद्योगी प्रदीप मुरारकाले पाँच लाख सहयोग गरेका छन् । पीसीआर मेसिन मुरारकाकै समन्वयमा आयात गरिएको हो ।

‘निजी क्षेत्रबाट मेसिन खरिद र सञ्चालनका लागि ६० लाख सहयोगको प्रतिवद्धता आएको छ,’ मेयर पराुजलीले भने, ‘मेसिन आइसक्यो, आवश्यक पर्ने रिएजेन्ट पनि खरिदको चरणमा छ ।’

मेसिन केही दिनभित्र कोशी अस्पतालमा जडान गरिने मेयर पराजुलीले बताए ।

Loading...